नेपालद्वारा बहराइन १० विकेटले पराजित



काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको छ । बहराइनले दिएको ३२ रनको सामान्य लक्ष्य नेपालले बिनाविकेटको क्षति भेट्टाएको हो ।

नेपालको जितमा ओपनर कविता कुवरले १४ बलमा १८ तथा अर्की ओपनर सिता रानामगरले ३ बलमा २ रन बनाइन् । २.५ ‌ओभर खेलेको नेपालले १३ अतिरिक्त रन पाएको थियो ।

मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन १५.४ ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटियो । बहराइनका लागि कप्तान दीपिका रसङगिकाले सर्वाधिक ११ रनको योगदान दिइन् । बहराइनका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बहराइनलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन तथा खुसी डंगोलले दुई विकेट लिइन् । कविता कुँवर, पुजा महतो र रुविना क्षेत्रीले समान एक/एक विकेट लिए । नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।

नेपालले तेस्रो खेलमा १७ गते भुटानसँग र चौथो खेलमा १८ गते कतारसँग खेल्दै छ । नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्नेछ ।

महिला क्रिकेटको इतिहासमा नेपालले पाएको यो दोस्रो सानो लक्ष्य हो । यसअघि सन् २०१९ मा दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई पोखरा क्रिकेट मैदानमा १६ रनमा अलआउट गरेको थियो । उक्त खेलमा पनि नेपालले माल्दिभ्सलाई १० विकेटले नै पराजित गरेको थियो ।


रवि धिताल