पाहुनाको पर्खाइमा बाँकेका होमस्टे



बाँके । वर्षायामसँगै सुनसान बनेका बाँकेका होमस्टे (घरबास) आन्तरिक पर्यटकको पर्खाइमा छन् । पाहुनाको आगामन नभएपछि यतिबेला होमस्टे सञ्चालक फुर्सदिला भएका छन् ।

वर्षा लागेपछि पाहुना आउने क्रम कम हुँदै गएको बाँकेको राप्ती सोनारी गाउँपालिका-८ नयाँगाउँमा होमस्टे सञ्चालन गर्दै आएकी शोभी थारूले बताइन् ।

‘अरु बेला त राम्रै भीडभाड हुन्छ तर वर्षायामको दुई महिना जति पाहुना नआउँदा सुनसान हुने गरेको छ,’ उनले भनिन्, ‘अहिले त पाहुना नआएका कारण सुनसानजस्तै छ, पाहुनाको पर्खाइमा बसेका छौं ।’

नेपालगन्जबाट करिब २५ किलोमिटरको दूरीमा रहेको नयाँगाउँ होमस्टे २०७२ सालमा सञ्चालनमा ल्याइएको हो । सुरुमा सात घरमा सञ्चालन गरिएको होमस्टे अहिले १३ घरमा छ । राजमार्गसँगै जोडिएको र पर्याप्त घुम्ने ठाउँ भएकाले नेपालगन्ज, कोहलपुरलगायतका क्षेत्रबाट सिजनमा पाहुनाको राम्रो चहलपहल हुने गर्छ ।

होमस्टेनजिकै वनस्पति उद्यान, ढकेरी वनभोजस्थल र बाँके राष्ट्रिय निकुञ्जको हात्तीसार रहे पनि अहिले आन्तरिक पर्यटकको चहलपहल ठप्प रहेको नयाँगाउँ होमस्टेका अध्यक्ष मंगल थारूले बताए । बैजनाथ गाउँपालिकामा रहेको जिल्लाकै चर्चित गाभर भ्याली होमस्टेमा पनि यतिबेला पाहुनाको चहलपहल छैन । वर्षातका कारण अहिले व्यवसाय ठप्पजस्तै रहेको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले जानकारी दिए ।

होमस्टे व्यवसायले थारू महिलाको चेतना धेरै माथि उठेको छ । आफ्नो समुदायबाहेक अरूसँग बोल्न डराउने, गाउँबाट अन्यत्र नजाने उनीहरू अहिले होमस्टेमा आउने पाहुना र उनीहरूसँगको घुलमिलले विभिन्न ठाउँको संस्कृति र मानिसलाई चिन्ने मौका पाएको चौधरीको भनाइ छ । बाँकेका पाँच सामुदायिक होमस्टेमा ५० घरपरिवार आबद्ध छन् ।

समुदायमा स्वरोजगार तथा रोजगारको सिर्जना गर्दै आएको सामुदायिक होमस्टेमा पाहुनाको चहलपहल कम भएपछि सञ्चालन गर्न कठिन भएको उनको भनाइ छ । जिल्लाभरिका होमस्टेमा वार्षिक एक करोड बढी आम्दानी हुने गरेको चौधरीले जानकारी दिए ।

‘अहिले त होमस्टे सुनसान छ, आएका पाहुनालाई खाने बसाउने गरेका छौं,’ बैजनाथको च्यामास्थित घरबास सञ्चालक गणेश चौधरीले भने, ‘हिउँदमा जसरी भरिभराउ हुन्थ्यो, अहिले त्यसको तुलनामा निकै न्यून छ, खर्च धान्न पनि मुस्किल भएको छ ।’

विसं २०७० मा सुरु भएको बाँकेको पहिलो गाभर भ्याली सामुदायिक होमस्टे अहिले नेपालकै नमुना घरबासका रूपमा चिनिन्छ । बाँकेमा सञ्चालित होमस्टे जीविकोपार्जन मात्रै नभई आयआर्जनको माध्यम बनेको गाभर भ्याली होमस्टेका अध्यक्ष चौधरीले बताए ।


क्लिकमान्डु