८ वर्षपछि तातोपानी नाका सर्वसाधारणका लागि आजबाट खुल्ने



काठमाडौं । भूकम्प र कोभिड-१९ का कारण आठ वर्षपछि उत्तरी तातोपानी नाकामा सर्वसाधारणको आउजाउ आजबाट खुल्ने भएको छ । भोटेकाशी गाउँपालिका–२ बाट चीन जोड्ने तातोपानी नाकाबाट यसअघि गत वैशाख १८ मा निर्यात खुलाइएको भए पनि सर्वसाधारणको आवतजावत भने खुलेको थिएन ।

नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको साउनमा बसेको एघारौं बैठकमा तातोपानीलाई आगामी दुई महिनाभित्रै सर्वसाधारणका लागि समेत खुलाउने सहमति भएको थियो ।

तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासकाअनुसार चिनियाँ अधिकारीहरुसँगको बैठकले ८ वर्षपछि सो नाका भएर मानव आवतजावत खुला गर्ने निर्णय गरेको हो ।

नाकाबाट यात्रुहरुको आवतजावत खुला गर्ने समझदारी भए पनि तत्कालका लागि भने स्थानीयका लागि मात्रै नाका खुल्ने छ । त्यसका लागि तातोपानी स्थित अध्यगमन कार्यालयले पास वितरण सुरु गरेको छ । अध्यागमनले जारी गरेको पास पाएकाहरुले शुक्रबारदेखि चीनतर्फ प्रवेश पाउने छन् । त्यस्तो पास एकवर्षे अवधिको हुने कार्यालयले जनाएको छ ।

नाकाबाट यात्रुको आवतजावसमेत सहज भए राजस्व बढ्ने अनुमान गरिएको छ । निर्यात खुलाइएको भए पनि न्यून रुपमा कन्टेनरहरु आइरहेको भन्सारकार्यालयको तथ्यांक छ ।

गत आर्थिक वर्षमा तातोपानी नाकामा ४ अर्ब ६२ करोड लक्ष्य राखिएकामा ३ अर्ब २७ करोड मात्रै संकलन भएको थियो भने यस वर्ष सर्वसाधारणका लागि नाका खुल्ने चर्चाकाबीच ४ अर्ब ८० करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ ।


क्लिकमान्डु