आन्तरिक ऋण वैदेशिक ऋणभन्दा बढी हुने अवस्था देखियो: पूर्वअर्थमन्त्री पाण्डे



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालको वैदेशिक ऋणभन्दा पनि आन्तरिक ऋण वृद्धि भइरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वअर्थमन्त्री पाण्डेले नेपालमा अन्य देशको भन्दा फरक समस्या रहेको भन्दै पछिल्लो ७ वर्षको अन्तरालमा मात्रै १० खर्ब बढी आन्तरिक ऋण बढेको बताए ।

पूर्वमन्त्री पाण्डेले नेपालको वाह्य र आन्तरिक ऋण बराबर जस्तो रहेको उल्लेख गरे । उनले आन्तरिक ऋणको वृद्धि तिब्र रुपमा बढ्दै गएकाले आगामी दिनहरुमा आन्तरिक ऋण वैदेशिक ऋण भन्दा बढी हुने अवस्था देखिएको बताए ।

चालु आर्थिक वर्षको बजेटमा पनि २४० अर्ब आन्तरिक ऋण लिने घोषणा रहेको भन्दै वर्तमान अर्थतन्त्रको अवस्था हेर्दा सबै लिनुपर्ने देखिएको बताए । सरकारलाई आन्तरिक ऋण चुनौति र महँगो दुबै भइरहेको बताउँदै उनले चालु आर्थिक वर्ष सरकारको लागि थप चुनौति र जटिलता रहेको बताए । सरकारले चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै लक्ष्य अनुसारको राजस्व संकलन हुन नसकेको उनले बताए ।

पूर्वमन्त्री पाण्डेले भारतले नेपालमा चामल निर्यात गर्दा २० प्रतिशत भ्याट लगाउने र यता सरकारले १३ प्रतिशत भिएटी लगाउने कुराले अर्को वर्ष मान्छेहरु खान नपाएर मर्ने अवस्था आउन सक्ने बताए । उनले आन्तरिक उत्पादन नभएको तर सरकारले कर लगाएको भन्दै खाद्यान्न लगायतका वस्तुहरु महँगो हुने र जनता मारमा पर्ने अवस्था रहेको बताए ।

सरकारले ६ प्रतिशत मूल्यवृद्धि कायम गर्ने भने पनि १० प्रतिशत माथि मूल्यवृद्धि पुग्ने लक्षण देखिएको उनको भनाइ थियो ।

बल,वुद्धि र पैसा भएका युवाहरु विदेश पठाएर केही नभएकाहरुलाई लिएर सरकारले देश बनाउने कुराले मुलुक समृद्ध हुन नसक्ने उनको भनाइ थियो ।

उनले नेपालमा भारत र चीनबाट मात्रै ठूलो सख्यामा पर्यटक भित्र्याउन सके अर्थतन्त्रमा ठूलो स्पेस रहेको बताए । मुलुक आर्थिक रुपमा समृद्ध हुनको लागि विदेशी मुलुकहरुको सहयोग पनि अपरिहार्य रहेको उनले बताए । अवसर नदेखेर विदेश जाने युवाहरुलाई स्वदेशमा नै राखेर मुलुकको क्षमता विकास गरी स्वरोजगार बनाउन सक्नुपर्ने आवश्यकता रहेको बताए ।


क्लिकमान्डु