विदेश जानैपर्छ भन्ने नेपालीहरुको मानसिकता परिर्वतन गर्न आवश्यक छः अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महत १२ कक्षाको अध्ययन सक्ने बित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । अर्थमन्त्री महतले राष्ट्रिय रुपमा सबैको मानसिकता बाहिर जानैपर्छ भन्ने भएको भन्दै विद्यार्थी र युवाहरुको मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले नेपालमा नै धेरै अवसरहरु भएको भन्दै ५० देखि १०० प्रतिशत छात्रवृत्ति बिनाको विदेशमा अध्ययनका लागि जानु नहुने बताए ।

उनले नेपालबाट जाने विद्यार्थीहरु राम्रो विश्वविद्यालयहरुमा नगएको भन्दै उनीहरुले अध्ययन पूरा गर्न नसक्ने राम्रो अवसर समेत पाउन नसकेको बतए । उनले नेपालमा इन्जिनियरिङ पढ्नेहरु अन्तर्राष्ट्रिय राम्रो क्याम्पसहरुमा छात्रवृत्ति पास गरेर जानसक्ने क्षमता भएपनि कक्षा १२ बाट नै ४० हजार विद्यार्थी बाहिर जाने गरेको बताए ।

अर्थमन्त्री महतले नेपालमा टेक्नोलोजी क्षेत्रमा ठूलो अवसर रहेको बताए । उनले पछिल्लो समय ठूलो संख्यामा युवाहरु आइटीमा लागे पनि करको दायरामा भने नआएको बताए । उनले नेपालबाट बेलायतमा १०० मिलियन पाउण्ड बराबरको सट्वयेरहरु निर्यात हुने गरेको बेलायतले स्वीकार गरेको उल्लेख गरे । उनले नेपालमा आइटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले सरकारले प्रोत्साहन गरिरहेको दाबी गरे । उनले आर्थिक वर्षको बजेटमा आइटी क्षेत्रमा लगाएको लगानीको ५० प्रतिशत आम्दानी कर कम गर्ने नीति लिएको पनि बताए ।

उनले आइटी र पर्यटनको ठूलो सम्भावनाको खानी नेपाल भएकाले पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताए । उनले पर्यटन प्रवद्र्धनको लागि ठूलो ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाए पनि कसरी ऋण तिर्ने भन्ने समस्यामा सरकार रहेको बताए । उनले पोखरा विमानस्थल भन्दा पहिला त्यो लगानीले निजगढमा विमानस्थल बनाएको भए राम्रो हुने अवस्था देखिएको बताए । उनले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता निश्चित रहेकाले धेरै पर्यटक आउन भन्नसक्ने अवस्था नभएको बताए ।

उनको भनाइ

अहिले जति पनि विद्यार्थीहरु बाहिर देशहरुमा पढ्न जानुभएको छ । त्यो राम्रो कलेजहरुमा जानुभएको छैन । उनीहरु एउटा भिसा सर्कलमा गएका छन् । न कलेज पूरा गर्नसक्छ । न ठूलो अवसर पाएको छ । त्यस्तो स्थितिमा हामीले कक्षा १२ बाट नै ५० देखि १०० प्रतिशत छात्रावृत्ति नभइ जाने विषयमा राष्ट्रिय रुपमा छलफल गर्न आवश्यक छ । नेपालमा इन्जिनियरिङ पढ्नेहरु अन्तर्राष्ट्रिय राम्रो क्याम्पसहरुमा छात्रवृत्ति पास गरेर जान सक्ने क्षमता नेपाली विद्यार्थीहरुमा छ । तर कक्षा १२ बाट नै ४० हजार विद्यार्थी बाहिर गएका छ । अहिले राष्ट्रिय रुपमा सबैको मानसिकता बाहिर जानै पर्छ भन्ने भएको छ । अब विदेश नजानु भनेको इज्जत नै जाने जस्तो भइसक्यो । यो मानसिकता परिवर्तन गर्न आवश्यक छ । हाम्रो शिक्षा क्षेत्रमा समस्या छैन भन्ने होइन । केही समस्याहरु छन् । अहिले नेपालमा ठूलो संख्यामा युवाहरु आइटीमा लाग्नुभएको छ तर करको दायरामा आउनुभएको छैन। नेपालबाट बेलायतमा १०० मिलियन पाउण्ड बराबरको सट्वयेरहरु निर्यात हुने गरेको छ । नेपालमा आइटी क्षेत्रमा ठूलो सम्भावना छ । यसलाई सरकारले प्रोत्साहन गरेको छ । बजेटमा आइटी क्षेत्रमा लगाएको लगानीको ५० प्रतिशत आम्दानी कर कम गर्ने निति लिएको छ । आइटी र पर्यटनको ठूलो सम्भावनाको खानी नेपाल भएकाले पूर्वाधार निर्माण गर्न आवश्यक छ । ठूलो ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनायौं कसरी ऋण तिर्ने भन्ने भइरहेको छ। त्यो भन्दा पहिला निजगढमा विमानस्थल बनाउन पाएको भए । धेरै पर्यटक आउन नेपालले आउ भने पनि कहाँबाट आउने समस्या छ । निश्चित विमानस्थलको क्षमता छ । सबै सडक मार्ग हुँदै आउनु भन्न सकिँदैन ।


क्लिकमान्डु