‘इन्टरनेटले बालबालिका यौन दुर्व्यवहारमा’



काठमाडौँ । सूचना प्रविधिको प्रयोगका कारण बालबालिका यौनदुर्व्यवहारमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । बाल आवाजले सार्वजनिक गरेको ‘अनलाइन बाल यौन दुर्व्यवहारको अवस्था तथा नीतिगत विश्लेषणसम्बन्धी अध्ययन’मा इन्टरनेटका कारणले १८ वर्षमुनिका बालबालिका यौनदुर्व्यवहारमा पर्ने गरेको जनाएको छ ।

महान्याधिवक्ता डा. दिनमणि पोखरेलले अनलाइन अपराधले समाजिक मात्र नभई मनोविज्ञान रुपमा असर पार्ने बताए । उनले पहिले शारीरिक यौनदुर्व्यहार हुने गरेको अहिले इन्टरनेटका माध्यमबाट पनि यौन दुर्व्यहावरले बालबालिकालाई मनोवैज्ञानिक असर पुर्‍याउने बताए ।

उनले ऐन निर्माण भएर मात्र नहुने उल्लेख गर्दै कानुनको बारेमा जनचेतना जगाउन आवश्यक रहेको बताए । महान्याधिवक्ता डा. पोखरेलले ‘साइबर क्राइम’का बारेका के कुरा समावेश गर्नुपर्ने हो ती कुरा अध्ययनबाट नै आउनुपर्ने जनाउँदै अध्ययन कानुन निर्माणका लागि कोसेढुंगा हुने बताए ।

अध्ययनमा सूचना प्रविधिको दुरुपयोगमा अश्लील फोटो माग्ने, असंवेदनशील म्यासेज गर्ने जस्ता कार्य बालबालिकामा आदानप्रदान भएर यौनदुर्व्यहारमा पर्ने गरेको जनाइएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले इन्टरनेटका कारणले धेरै बालबालिका यौनदुर्व्यहारमा पर्ने गरेको उल्लेख गर्दै मोबाइलको ‘सेटिङ’मा नै यौनजन्य भिडियो आउने खालका वेबसाइट रोक्नुपर्ने बताए ।

लतिलपुरका वरिष्ठ प्रहरी उपरीक्षक सिद्धविक्रम शाहले यौनदुर्व्यहारमा परेका बालबालिकाले उजुरी दिए पनि कहाँबाट यौनदुर्व्यहार भएको भन्ने थाहा पाउन साधन स्रोतको अभावले कारबाहीमा ल्याउन समस्या भएको बताए । उनले उजुरी भए पनि बालबालिकाको संरक्षण गर्न समस्या हुने तर्क गरे ।

उनले बालबालिकालाई यौनसम्बन्धी साइट हेर्नबाट रोक्नका लागि अहिले वाइफाईमा ‘चाइल्ड सेभ मोड’ राखिएको जानकारी दिए । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बालबालिकालाई ल्यापटप, मोबाइल, आइप्याडबाट टाढा राख्नुपर्ने बताए ।

कोशी र बागमती प्रदेशका पाँच सय १४ बालबालिकामा गरिएको अध्ययनमा बालबालिकालाई अश्लील फोटो पठाउने र माग्ने, बालबालिकाको फोटो प्रयोग गरेर यौनदुर्व्यहारमा पार्ने जस्ता क्रियाकलाप गरिरहेको उल्लेख गरिएको छ ।

अध्ययनमा ७३ प्रतिशत बालबालिका वाइफाई, १४ प्रतिशतले मोबाइल डाटा र १३ प्रतिशतले दुवैमार्फत सूचना प्रविधिको प्रयोग गरिरहेको पाइएको बाल आवाजका कार्यकारी निर्देशक कृष्णकुमार थापाले जानकारी दिए ।


रवि धिताल