सप्तरीको बोदेबर्साइन नगरपालिका प्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । सप्तरीको बोदेबर्साइन नगरपालिका प्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बाख्रापालनको अनुदानमा भ्रष्टाचार गरेको भन्दै नगरपालिका प्रमुख आतेशकुमार सिंह र निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरुमाथि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाअन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि छुट्याइएको रकम कामै नगरी भुक्तानी गरेको अभियोग उनीहरुविरुद्ध छ ।

नगरपालिकाले बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि वडा नं ६ फुलकाहीको माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरी नक्कली बिल भर्पाइ र झुटा बिल बनाएर १४ लाख ७१ हजार ९२१ रुपैयाँ भुक्तानी गरेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।

नगर प्रमुख यादव, वडा नं ४ का तत्कालीन अध्यक्ष रामानन्द चौधरी र तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगतले स्थलगत अनुगमन गरी योजनाको स्थिति राम्रो भनी गलत प्रतिवेदन दिएको र सोही प्रतिवेदनका आधारमा कृषक समूहलाई भुक्तानी दिएको पाइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव र लेखापाल सरोजकुमार मण्डलले नक्कली बिल भरपाइकै आधारमा भुक्तानीको टिप्पणी आदेश स्वीकृत गरेर कृषक समूहलाई भुक्तानी दिएको देखिएको अख्तियारले जनाएको छ । भ्रष्टाचार मुद्दा दायर भएकामा नगरपालिकाका पशुविकास अधिकृत अर्जुनप्रसाद यादव, माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्यामकुमार साह र कोषाध्यक्ष निलमकुमारी शर्मा पनि छन् ।


रवि धिताल