आर्थिक अपराध अनुसन्धान ब्युरो स्थापना गर्न सीआईबीको सुझाव
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले वित्तीय अपराध बढिरहेको भन्दै आर्थिक अपराध अनुसन्धान गर्न छुट्टै निकाय स्थापना गर्न सुझाव दिएको छ ।
नेपाल राष्ट्र बैंकको कानुन महाशाखाले आयोजना गरेको कार्यक्रममा बैंकिङ कसुर अनुसन्धान सम्बन्धी प्रस्तुति गरेका सीआईबीका अधिकारीहरुले वित्तीय अपराध अनुसन्धान गर्न आर्थिक अपराध अनुसन्धान ब्यूरो स्थापना गर्नु पर्ने सुझाव दिएका हुन् ।
‘केन्द्रीय अनुसन्धान ब्यूरोमा आर्थिक अपराधसँग सम्बन्धित ठूलो संख्याका उजुरीहरु प्राप्त हुने गरेका छन्,’ सीआईबीका एक अधिकारीहरुले भने,‘हाल सीआईबीको पिलर २ मा ३४७ उजुरीहरु अनुसन्धानको क्रममा छन् । उक्त पिलरमा कार्यरत जनशक्तिबाट अनुसन्धान गराउन कठिन रहेकाले ठूलो चेक बाउन्ससहित विभिन्न निकायबाट प्राप्त आर्थिक अपराधसँग सम्बन्धित उजुरीहरुको अनुसन्धान समेतको लागि आर्थिक अपराध अनुसन्धान ब्यूरोको स्थापना गर्न आवश्यक रहेका छ ।’
२०६७ साउन १ गते स्थापना भएको ब्यूरोले हालसम्म बैकिङ कसूर सम्बन्धी २३९ मुद्दाको अनुसन्धान गरिसकेको छ । यस्तै, ब्यूरोले एटीएम ठगीमा १४, क्रिप्टोकरेन्सी सम्बन्धी कसुरको १४ मुद्दा, सहकारी ठगी सम्बन्धी ४३ मुद्दामा अनुसन्धान गरिसकेको छ ।
मलपोल, यातायात, बैंक तथा वित्तीय संस्था, धितोपत्र, राजस्व लगायतका विषयमा केन्द्रीय एकीकृत अभिलेख प्रणाली नहुदा आर्थिक अपराध अनुसन्धान गर्न कठिन भएको प्रहरीको ठहर छ ।
सबै प्रकारका आर्थिक विषयको जानकारी एउटै निकायबाट प्राप्त हुने गरी केन्द्रीय एकिृकृत अभिलेख प्रणाली विकासले वित्तीय अपराध अनुसन्धान गर्न सहज हुने सीआइबीको निष्कर्श छ ।