भदौ लागेपछि बढ्न थाल्यो कर्जा प्रवाह



काठमाडौं । वैशाखदेखि ठप्प रहेको कर्जा प्रवाह भदौ लागेपछि बढ्न थालेको छ । वैशाखदेखि साउन मसान्तसम्म ठप्पप्रायः रहेको कर्जा प्रवाह भदौ लागेपछि विस्तारै उकालो लाग्न थालेको हो ।

चैत मसान्तमा समग्र वित्तीय क्षेत्रको कर्जा प्रवाह ४८ खर्ब ५० अर्ब हाराहारी रहेकोमा साउन मसान्तसम्म ४८ अर्ब ५९ अर्ब रुपैयाँ थियो । त्यस्तै वाणिज्य बैंकको कर्जा प्रवाह चैत मसान्तमा ४३ खर्ब १ अर्ब रहेकोमा साउन मसान्तमा ४२ खर्ब ९९ अर्ब रुपैयाँ थियो ।

भदौ १० गते वित्तीय क्षेत्रको समग्र कर्जा प्रवाह ४८ अर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकको कर्जा प्रवाह ४३ खर्ब १३ अर्ब पुगेको छ । भदौ लागेपछि एलसी खोल्ने क्रम पनि बढे पनि विगतका वर्षहरुभन्दा अत्यन्तै कम भएको बैंकहरुले बताएका छन् ।

कर्जा प्रवाह ठप्प भएपछि दबाबमा परेको बैंकहरु उत्पादनमूलक क्षेत्रलाई चलायनमान बनाउने भन्दै घर कर्जामा केन्द्रित भएका छन् । घर कर्जाले इँटा, बालुवा, ढुंगादेखि सिमेन्ट, रड, स्टिल र काठ उद्योग समेतको व्यापार व्यवसाय बढाउने उनीहरुको भनाइ छ ।

अधिकांश बैंकले घर कर्जामा केन्द्रित भएर कर्जा योजना सार्वजनिक गरेका छन् । कतिपयले आधार दरमा कम मात्र प्रिमियम थपेर त कतिपयले फिक्स्ड दरमा कर्जा योजना ल्याएका छन् । परिणामतः विस्तारै कर्जा प्रवाह बढ्न थालेको नेपाल बैंकर्स संघले जनाएको छ ।

गत वर्ष कर्जा प्रवाह जम्मा ३.४२ प्रतिशतले बढेको थियो । बाह्य क्षेत्रलाई सन्तुलनमा ल्याउन आयातमा गरिएको कडाइले एलसी खोल्ने क्रम निरुत्साहित हुँदा कर्जाको माग भएन भने समष्टीगत मागमा पनि कमी आयो । कित्ताकाट रोकिँदा घरजग्गा कारोबार पनि प्रभावित भयो । पुँजीबजारका लागि पनि गत वर्ष निराशाजनक रह्यो ।

अहिले भने सरकारले अर्थतन्त्र चलायमान बनाउन भन्दै वर्गीकरण नसकिए पनि घरजग्गा कारोबार खुला गरेको छ । गत वर्ष कर्जाको मागमा सुस्तताका कारण दबाबमा परेका बैंकहरुले अहिले कर्जा प्रवाह बढाउन उपाय खोजिरहेका छन् । भदौ १० सम्म बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम साढे ३ खर्बभन्दा बढी छ ।

गत वर्ष बैंकहरु स्रोतको दबाबमा पनि थिए । प्राथमिक पुँजीकोषमाथि परेको दबाबका कारण कतिपय बैंक लगानी गर्न सक्ने अवस्थामै थिएनन् । उनीहरु कर्जा असुलीमा केन्द्रित भए । विभिन्न कारणले कर्जा प्रवाह हुन नसक्दा बैंकहरुको नाफा वृद्धि पनि ५.९२ प्रतिशतमा सीमिति भएको छ । अघिल्लो वर्ष ६६ अर्ब २५ करोड खुद नाफा गरेका बैंकहरुले गत वर्ष ७० अर्ब १७ करोड नाफा गरेका छन् ।

बैंकहरुको वितरणयोग्य नाफा त १३ अर्बले घटेको छ । अघिल्लो वर्ष ४७ अर्ब ३७ करोड रहेको बैंकहरुको वितरणयोग्य नाफा गत वर्ष २७.४६ प्रतिशतले घटेर ३४ अर्ब ३५ करोड रुपैयाँमा झरेको छ ।


रवि धिताल