हकप्रद सेयर खुलाएको जानकारी अब एसएमएसमार्फत



काठमाडौं । सिडिएस एन्ड क्लियरिङले हकप्रद सेयर खुलाएको जानकारी एसएमएसमार्फत गराउन थालेको छ ।

कम्पनीले सिनर्जी पावर, अपी पावर र मल्टीपर्पस फाइनान्स कम्पनीबाट एसएमएस सुरुवात गरेको हो । हकप्रद निष्कासनका लागि सिडिएससीमा निवेदन लिएर आउने हरेक कम्पनीले अबदेखि एसएमएस पठाउने प्रक्रिया पनि अघि बढाएको हुनुपर्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्यले जानकारी दिए ।

‘कम्पनीले हकप्रद सेयर खुलाएको जानकारी नपाउँदा धेरै सेयरधनी हकप्रद भर्नबाट वञ्चित भएको पाइएपछि यस्तो व्यवस्था गरिएको हो,’ उनले भने, ‘सम्बन्धित कम्पनी एसएमएसको पैसा तिर्न तयार नभए आईपीओ निष्कासनका लागि सिस्टम प्रयोग गर्न दिइने छैन ।’

सीडीएससीले एसएमएससम्बन्धी व्यवस्था अनिवार्य गर्न नेपाल धितोपत्र बोर्डमा समेत पटक–पटक लेखेर पठाएको थियो । तर, बोर्डबाट त्यस्तो निर्देशन जारी नभएको सीडीएसीका एक उच्च कर्मचारीले बताए । ‘हामीले बोर्डमा भनेका छौं तर बोर्ड अनिवार्य गराउन किन चाहेको छैन, बुझ्न सकिएन,’ ती कर्मचारीले भने ।

अहिले मेरो सेयरमार्फत हकप्रद सेयर संसारभरका लगानीकर्ताले अनलाइन भर्न पाउँछन् । ‘त्यसकारण बाहिर बस्ने लगानीकर्ताको पनि सहजताका लागि इमेलको व्यवस्था गर्ने विषयमा पनि सोचिरहेका छौं,’ उनले भने, ‘तर मोबाइल नम्बर र इमेल ठेगाना धेरै नै गलत टिपाइएको पाएका छौं, पहिला अद्यावधिक गर्न/गराउन पनि सूचना गर्नुपर्ने स्थिति छ ।’

लिलामीबाट फाइदा लिन कतिपय कम्पनीले भने एसएमएस पठाउन आनाकानी गरिरहेको सीईओ आचार्यले जानकारी दिए । ‘तर हामी एसएमएसका लागि तयार भएपछि मात्र निष्कासन प्रक्रिया अघि बढाउँछौं,’ उनले भने ।


रवि धिताल