महासंघ अध्यक्ष ढकालले भने- नेपालमा लगानी ल्याउनुस्, ठूलो सम्भावना छ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी भित्र्याउन विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ र हङकङ ट्रेड डेभलपमेन्ट काउन्सिलद्वारा संयुक्त रुपमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले नेपालमा लगानी भित्र्याउन र यहाँबाट लाभ लिनसमेत विदेशी लगानीकर्तालाई आग्रह गरेका हुन् ।

उनले नेपालमा लगानीका अधिक सम्भावना रहेको तर्फबाट सबै विदेशी लगानीकर्ताको ध्यान आकर्षित गराए ।

‘नेपालमा ऊर्जा, पूर्वाधार, निर्माण क्षेत्र, पर्यटनलगायतका धेरै क्षेत्रमा लगानीका सम्भावना छन्, यहाँ लगानी गरेर विदेशी लगानीकर्ताले लाभ पनि लिइरहेका छन्, त्यसैले म सबै विदेशी लगानीकर्ता मित्रहरुलाई यसतर्फ आग्रह गर्दछु,’ उनले भने ।

अध्यक्ष ढकालले नेपालमा लगानीका सम्भावनाहरुसँगै लगानीको वातावरण पनि रहेको जानकारी गराए । नेपाल दुई ठूला र समृद्ध राष्ट्रका बीचमा रहेकाले लगानी र बजारको पनि त्यति नै अवसर रहेको उनको भनाइ छ ।

अध्यक्ष ढकालले नेपालको लुम्बिनी र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेकाले ती विमानस्थलमा चीन र हङकङबाट पर्यटक आगमनमा पनि उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको बताए ।


रवि धिताल