सांसद अमरेशको प्रश्न: प्रधानमन्त्रीकी छोरी कुन हैसियतमा राज्यका उच्च तहका बैठकमा बसिरहेकी हुन् ?



काठमाडौं । सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीकी छोरी र पूर्वप्रधानमन्त्रीको श्रीमती कुन हैसियतमा राज्यका उच्च तहका बैठकमा बसिरहेका हुन् भनेर प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद सिंहले गणतन्त्रलाई नेताको शासनमा परिणत गर्दा व्यवस्थामाथि नै प्रश्न उठेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहाल राज्यका उच्च तहका हरेक बैठकमा कुन हैसियतमा बसिरहेकी हुन् भन्दै उनको प्रश्न थियो ।

‘जनताको तन्त्र हो गणतन्त्र तर नेताको शासन कसरी भयो ? नेताको छोरीले अथवा प्रधानमन्त्रीको छोरीले कहाँबाट त्यो अधिकार पाउँछ हरेक बैठकमा बस्ने ? म प्रश्न गर्न चाहन्छु हामीले कस्तो व्यवस्था गरेका छौं ? कुनै पूर्वप्रधानमन्त्रीको श्रीमती कसरी हरेक बैठकमा बस्न पाउँछन् ?’ सिंहले प्रश्न गरे ।

त्यस्ता गतिविधिबाट व्यवस्थालाई नै खतरा रहेको सांसद सिंहको भनाइ थियो । ‘अथोरिटी विदाउट अकाउन्टिबिलिटी चलेको छ, सबैभन्दा बढी खतरा त्यहाँबाट छ । गणतन्त्रलाई कहिँबाट खतरा छ भने चार-पाँच जना नेता र उनीहरूका बच्चाहरूबाट छ,’ उनले भने, ‘जम्मै भ्रष्टाचारको जरो त्यहाँ छ ।’

मुलुकका ठूला भ्रष्टाचार काण्ड अन्तिम टुंगोमा किन पुगेनन् भनेर पनि सांसद सिंहले प्रश्न गरेका छन् । उनले वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकार इतिहासमै कमजोर रहेको विदेशी हस्तक्षेप निम्याउएर मुलुकमा धार्मिक र जातीय युद्ध निम्त्याउन उद्दत रहेको उनले आरोप लगाए ।


क्लिकमान्डु