सरकार ढाल्न विभिन्न षड्यन्त्र जारी छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार ढाल्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताएका छन् ।

मंगलवार काठमाडौंमा पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन तोड्ने र सरकारलाई ढाल्ने धेरै कसरत भइरहेको तर सफल हुन नसकेको बताए ।

सरकार ढाल्ने कोशिष गर्नेहरु बिस्तारै जनताको नजरमा गिर्दै गइरहेको उनको भनाइ थियो । कुनै ठूलो घटना नभए यो गठबन्धन ५ वर्ष नै चल्ने उनको दाबी छ ।

अहिले अतिवादी विचार र प्रवृत्तिहरु कहीँ धार्मिक, कतै जातिय माध्यमबाट परिवर्तनलाई उल्ट्याउन, माओवादी आन्दोलन कमजोर पार्न उद्धत रहेको बताए ।

उत्पीडित, जाति, वर्ग समुदायको हक अधिकारको निम्ति लडेको माओवादीले मात्रै यी समस्या समाधान गर्नसक्ने उनले दाबी गरे।

प्रधानमन्त्री दाहालले नयाँ क्रान्ति शुरु नगर्ने हो भने देश ठूलो दुर्घटनामा जाने बताए । अहिले परिवर्तन उल्टिने खतरा आफूले देखिरहेको उनको भनाइ छ । माओवादी शक्ति बलियो नभए प्रतिक्रियावादीले आफूमाथि आक्रमण गर्ने गरेको उनले बताए । युद्धकालीन बेलाका ३६ वटा मुद्दा आफूबिरुद्ध रहेको र अहिले प्रधानमन्त्री बनेर राम्रो काम गरेपछि दुई वटा मुद्दा थपिएको उनले बताए ।


क्लिकमान्डु