बञ्चरेडाँडामा फोहोर फल्न नदिने चेतावनी



काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइटवरपरका बासिन्दाले असोज १ देखि फोहोर फाल्न नदिने चेतावनी दिएका छन् ।

बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले सोमबार पत्रकार सम्मेलन गरी सहमतिअनुसार फोहोर व्यवस्थापन नगरेको भन्दै फोहोर फाल्न नदिने चेतावनी दिएको हो ।

समितिका संयोजक श्रीराम ढुंगानाले मान्छे र फोहोर एकै ठाउँमा बस्न नमिल्ने र आफूहरुको मुख्य माग नै यही भएको बताए ।

ल्यान्डफिल साइट प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा गर्नुपर्ने, प्रभावित क्षेत्रलाई अधिग्रहण गरेर मानव बस्तीरहित हरियाली क्षेत्र कायम गर्नुपर्नेलगायतका माग समितिले राखेको छ ।

त्यस्तै  अस्पतालजन्य, विषादीजन्य र औद्योगिक फोहोरमैला बञ्चरेडाँडामा फाल्न नपाइने उनीहरुले बताएका छन् ।

काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेँसी नगरपालिकाको सिमानामा पर्ने बञ्चरेडाँडामा फालिँदै आएको छ । स्थानीय बासिन्दाले बेला–बेलामा आन्दोलन गरे पनि स्थायी समाधान खोजिएको छैन ।

माग पूरा नगरे असोज १ देखि फोहोर रोक्ने र सरकारले जबर्जस्ती गरे १० हजार मान्छे टुँडिखेल उतार्ने सरोकार समितिले चेतावनी दिएको छ । आफूहरुको मागलाई संघीय र प्रदेश सरकार तथा काठमाडौं महानगरपालिकाले बेवास्ता गरेको संयोजक ढुंगानाले बताए ।


रवि धिताल