प्रतिनिधि सभाका नवनिर्वाचित समिति सभापतिहरुद्वारा पद तथा गोपनीयताको शपथ



प्रतिनिधिसभाकाे विभिन्न १० समितिमा सोमबार निर्वाचित सभापतिहरू सिंहदरबारमा आयाेजित शपथग्रहण कार्यक्रममा सभामुख देवराज घिमिरेबाट पद तथा गाेपनीयताकाे शपथ लिँदै । तस्बिर : रत्न श्रेष्ठ / रासस

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख देवराज घिमिरेले सङ्घीय संसद् सचिवालयमा आयोजित समारोहमा उनीहरूलाई शपथ गराएका हुन् ।

सो अवसरमा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, सांसदलगायत उपस्थित थिए ।

प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएका थिए । सबै विषयगत समितिमा एकल उम्मेदवारी रहेकाले १० वटै समितिका सभापति निर्विरोध निर्वाचित भएका हुन् ।

अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टीका राजकिशोर यादव, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्वाचित भएका छन् ।

त्यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका डा. आरजु राणा देउवा र राज्य व्यवस्था तथा सुशासन समितिमा कांग्रेसका रामहरि खतिवडा निर्वाचित भएका छन् ।

त्यसैगरी, पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी, सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा एमालेकै किरणकुमार साह निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि मात्र संसदीय समितिले पूर्णता पाएका छन् ।


रवि धिताल