आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परिसंघको आग्रह



काठमाडौं । नेपाल उद्योग परिसंघले विदेशस्थित नेपाली दूतावासमार्फत स्वदेशी वस्तुहरुको निर्यात एवं प्रवर्धनलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज परराष्ट्रमन्त्री एनपी साउदसँग छलफल गर्दै वैदेशिक लगानी भित्र्याउन, स्वदेशी वस्तुहरुको प्रवर्धन गर्न र पर्यटन प्रवर्धन गर्नका लागि आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको हो ।

अध्यक्ष अग्रवालले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नीतिगत स्थायित्व, सहज व्यावसायिक वातावरण र छिटोछरितो निर्णय गर्ने संयन्त्र आवश्यक रहेकोमा जोड दिए । उनले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सम्बन्धित देशका लगानीकर्तासँगको व्यावसायिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताए ।

यसका लागि नेपाली दूतावासहरुले व्यावसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण तथा अन्तर्क्रिया गर्न सहजीकरण गर्नुपर्ने परिसंघको भनाइ छ ।

भारतदेखि विराटनगरसम्म सुरु भएको कार्गो रेलवे सेवा सञ्चालनका लागि निरन्तरता दिनुपर्ने, नेपाल र भारतबीच ‘मोटर भेहिकल एग्रिमेन्ट’ गरी नेपाली मालवाहक एवं अन्य सवारी साधनको आवतजावतलाई सहज बनाइनुपर्नेमा परिसंघले जोड दिएको छ ।

छलफलका क्रममा परराष्ट्रमन्त्री साउदले परिसंघले उठाएका विषयलाई उच्च प्राथमिकतामा राख्ने बताए । मुलुकमा व्यावसायिक वातावरण बनाउने र स्वदेशी वस्तुको प्रवर्धनका लागि कूटनीतिक पहल गर्ने विषयमा मन्त्रालय सधैं तयार रहने उनको भनाइ छ ।


रवि धिताल