वाणिज्य विभागद्वारा १८ व्यवसायको अनुगमन, १३ वटालाई जरिवाना



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार १८ व्यवसायको अनुगमन गरेको छ । अनुमगनमा क्रममा नियमविपरीत व्यवसाय गर्ने १३ फर्मलाई जरिवाना गरिएको छ ।

जरिवानामा पर्नेमा तरकारी पसल, कस्मेटिकदेखि किराना पसलसम्म छन् । विभागले दर्ता नगरी पसल सञ्चालन गर्ने कालिमाटीको एउटा किराना पसललाई १ लाख जरिवाना गरेको छ भने खरिद बिलविजक नराख्ने बानेश्वर र लामाटारका दुई वटा किराना पसललाई १० हजारका दरले जरिवाना तिराएको छ ।

नियमित अनुगमनका क्रममा काभ्रेको एउटा तरकारी पसललाई २० हजार र काठमाडौंको एउटा तरकारी पसललाई १० हजार जरिवाना गरिएको विभागले जनाएको छ । खरिद बिलविजक नराख्ने तरकारी पसललाई कारबाही गरिएको हो ।

त्यस्तै दर्ता नगरी  सञ्चालनमा आएको र खरिद बिलविजक नराखेको आरोपमा विभागले बानेश्वरको एउटा कस्मेटिक पसललाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ । विभागले खाद्यवस्तु तथा रेडिमेट कपडा पसलमा पनि अनुगमन तथा कारबाही गरेको जनाएको छ ।


क्लिकमान्डु