ललितपुरका नापी अधिकृत राजन गिरीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । नापी कार्यालय ललितपुरका नापी अधिकृत राजन गिरी र मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृत अम्बिकाप्रसाद नेपालसहित ७ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

सरकारी कागजात हेरफेर एवं गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

नापी कार्यालय ललितपुरका नापी अधिकृत राजन गिरी र सर्भेक्षक लोकेन्द्रसिंह धामीले साविक टिकाथली गाविस वडा नं. ६, कित्ता नं. १६९९ र कित्ता नं. १७०१ को कित्ताकाट गरी विभिन्न कित्ता कायम गर्ने क्रममा नक्सामा भू-उपयोग नियमावली २०७९ मा उल्लिखित कित्ताकाटका लागि तोकिएको न्यूनतम मापदण्डभन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गरेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।

नियमावलीले तोकेको क्षेत्रफलभन्दा कम क्षेत्रफलका कित्ता कित्ताकाट गरी सो तथ्यलाई ढाकछोप गर्ने उद्देश्यले नक्सा र फिल्डमा नभए पनि कित्ता नं. १६९९ र कित्ता नं. १७०१ मा टायल चेकबाट बढ कायम गरी टायल चेक गरी बढाएको क्षेत्रफल र सरकारको नाममा कायम बाटोको कित्ता नं. २९४४ को नक्सा र फिल्डमा भएको क्षेत्रफलभन्दा कम क्षेत्रफल कायम गरी प्लट रजिष्टर र स्रेस्तामा जनाई उक्त जग्गासमेत व्यक्ति विशेषको नाममा कायम भएको कित्ताहरुमा समावेश गरी नक्सामा भन्दा प्लट रजिष्टर र राजीनामा लिखतमा बढी क्षेत्रफल उल्लेख गरी कित्ताकाट गरेको देखिँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ बमोजिम सरकारी कागजात गैरकानुनी तरिकाले हेरफेर गरेको कसुरमा कैद र जरिवानाको मागदाबी लिइएको छ ।

त्यस्तै मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृत अम्बिकाप्रसाद नेपाल, नायब सुब्बा मनोज पोख्रेल र खरिदार युवराज कटुवालले जग्गामा नक्सा र फिल्डमा नभएको क्षेत्रफल टायल चेकबाट बढ कायम गरी एवं साविकको कित्ता नं. १६९९ बाट कित्ताकाट भई कायम कित्ता नं. २९४४ को कित्ताकाट डायरी (नक्सा) मा भएको क्षेत्रफलको जग्गालाई कित्ताकाट स्रेस्ता (प्लट रजिष्टर) र राजीनामा लिखतमा कम क्षेत्रफल बनाई भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरमा लिखत पारितको लागि पठाएकोमा उक्त लिखत पारित गर्दा अपनाउनुपर्ने कानुनी व्यवस्था नअपनाएको अख्तियारको ठहर छ ।

कानुनविपरीत अन्देखा गरी निर्देशिकासमेतले तोकेको कार्यविधिअनुसार कागजात एवं फिल्ड निरीक्षण जाँच नगरी नापी कार्यालयबाट पेस भएबमोजिम लिखतहरु पारित गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ बमोजिम गलत लिखत तयार गरेको कसुरमा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ बमोजिमको कैद र जरिवानाको मागदाबी लिइएको छ ।

राउसाई होल्डिङस् प्रालि ललितपुर महानगरपालिका वडा नं. २ सानेपाका अध्यक्ष नेम महर्जन र सेयर होल्डर मनोजबहादुर श्रेष्ठले ती जग्गा कित्ताकाट गरी विभिन्न व्यक्तिलाई बेच्ने क्रममा नापी कार्यालय र भूमिसधार तथा मालपोत कार्यालय ललितपुरका कर्मचारीहरुलाई प्रभावमा पारेको अख्तियारले जनाएको छ । उनीहरुमाथि ऐनको दफा २२ अनुसार मुख्य कसुरदारलाई हुने सजायसरह सजाय हुन मागदाबी गरिएको छ ।


रवि धिताल