एक-अर्काको धर्म, संस्कार र आस्थालाई सम्मान गरौँ: सभापति लामिछाने



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरानमा विकास भएको घटनाबारे सबै पक्ष संवेदनशील बन्नुपर्ने धारणा राखेका छन् ।

कार्यक्रमका सहभागी हुन चितवन आएका लामिछानेले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सामाजिक सञ्जालमा वैमनश्य फैलाउने प्रतिक्रिया नदिन र संवादको माध्यमबाट समस्या समाधानमा जोड दिन सबैलाई आग्रह पनि गरे ।

उनले कुनै पनि अतिवादलाई स्वीकार गर्न नसकिने भन्दै सबै पक्ष शान्तिपूर्ण ढंगले अगाडि बढ्नुपर्ने बताए ।

उनले सबैलाई सद्भाव कायम राख्न अपिलसमेत गरे । सभापति लामिछानेले आमसञ्चार माध्यममा त्रियाशीलहरुलाई अझ बढी जिम्मेवार भएर लाग्न अनुरोध गरे ।

उनले सामाजिक सञ्जालका प्रयोगकर्ता रहेका जुनकुनै दलका समर्थक सदस्य भए पनि यस्ता घटनामा संयमित हुन र एक–अर्काको धर्म, आस्था र संस्कारलाई सम्मान गर्न आग्रह गरे ।

सभापति लामिछानेले भरतपुरमा चलाइएको मोबाइल क्लिनिक र ब्लु बसको बारेमा टिप्पणी गर्दै आफूहरुले केही नयाँ परिवर्तन गर्न खोजेको धारणा राखे । उनले भने, ‘यसबाट भविष्यमा बहुआयामिक ढङ्गबाट सोचेर अगाडि बढ्नुपर्छ भन्ने शिक्षा प्राप्त भएको छ ।’

उनले संसदीय समितिमा सत्तापक्ष र प्रतिपक्षको भागबण्डा भएको भन्दै आफूले पनि उम्मेदवारी दिन लागेको जानकारी दिए ।


रवि धिताल