सञ्चालनमा समस्या भएमा उद्योग बन्द गर्न सरकारले सहजीकरण गर्नुपर्छ: महासंघ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सञ्चालनमा समस्या भएमा उद्योगलाई बन्द गर्ने प्रक्रियामा सरकारले सहजीकरण गर्नुपर्ने बताएको छ ।

श्रमिकको न्यूनतम पारिश्रमिक सम्बन्धमा धारणा सार्वजनिक गर्दै महासंघले अर्थतन्त्र मन्दीमा रहेका बेला श्रमिकहरुको पारिश्रमिकलाई दिगो बनाउन एवं उद्यम व्यवसायको विस्तारका लागि नीतिगत सुधार आवश्यक रहेको जनाउँदै सञ्चालनमा समस्या भएका उद्योग बन्द गर्ने प्रकृयामा सरकारको सहजीकरणको माग गरेको हो ।

उद्योग व्यवसायको प्रकृति, भौगोलिक क्षेत्र लगायतका बिषयलाई पनि आधार मानि न्यूनतम पारिश्रमिक दर निर्धारण गर्ने व्यवस्था लागू गर्नुपर्ने महासंघले जनाएको छ ।

नीतिगत व्यवस्था, श्रम नियमावलीको व्यवस्था एवं विगतको अभ्यास अनुसार अभारभूत तलबतर्फ ६० प्रतिशत र मंहगी भत्तामा ४० प्रतिशत अनुपात हुने गरि मिलाउनु पर्ने महासंघको धारणा छ ।

चिया कृषि प्रकृतिको विशेष उद्योग व्यवसाय भएको र चिया उत्पादनको लागतमा ७० प्रतिशत श्रमिकको ज्याला नै हुने भएकाले छिमेकी मुलुकमा कायम भएको चिया श्रमिकको पारिश्रमिकलाई समेत मध्यनजर गरि चिया वगानका लागि हाल निर्धारण भएको न्यूनतम पारिश्रमिकमा पुर्नविचार एवं संशोधन गर्नुपर्ने माग महासंघको छ ।

नीति तथा कार्यक्रममा समेत व्यवस्था भए बमोजिम स्वदेशी उद्योगवाट उत्पादित वस्तुहरु विशेषगरी साना तथा घरेलु उद्योगवाट उत्पादन भएका वस्तुहरु आयातित वस्तु भन्दा २० प्रतिशत वढी मूल्य भएपनि खरीद गर्ने व्यवस्थालाई व्यवहारमै कडाईका साथ लागू गर्नुपर्ने महासंघले जनाएको छ ।

मूल्यवृद्धिबापत राहत दिन श्रमिकहरुका लागि खाद्यान्न र अति आवश्यक उपभोग्य वस्तुका सुपथ मूल्य पसलको व्यवस्था र राशन कार्डको व्यवस्था गर्नुपर्ने महासंघको माग छ ।


रवि धिताल