नेसनल आईसीटी स्कलरसिपका लागि क्यान महासंघद्वारा आवेदन खुला



काठमाडौं । लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघले प्राविधिक शिक्षातर्फ छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ । क्यान महासंघ र फाउन्डेसनले संयुक्त रूपमा ४ वर्षदेखि प्रदान गर्दै आइरहेको छात्रवृत्ति ‘नेसनल आइसिटी स्कलरसिप-२०८०’ का लागि आवेदन खुला भएको हो ।

सूचना प्रविधिको अध्यापन गराउने कलेजहरूको सहयोगमा क्यान महासंघले निम्न वर्गीय एवं जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ । काठमाडौंको मैतीदेवीमा रहेको लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा क्यानले ४९ जना विद्यार्थीलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्नेछ ।

‘नेसनल आइसिटी स्कलरसिप २०८०’ मा सातै प्रदेशका विद्यार्थीले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रालाई पूर्ण र ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने क्यानले जनाएको छ । छात्रवृत्तिबाट ग्रामीण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरिकमा यसको पहुँच पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । चार वर्षदेखि सञ्चालित छात्रवृत्ति कार्यक्रमअन्तर्गत हालसम्म ११० विद्यार्थी अध्ययनरत छन् । 

फिमेल मेरिट आइसिटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना र आइसिटी मेरिट स्कलरसिपअन्तर्गत प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिनेछ ।

क्यान महासंघ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबीच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले २ करोड ८३ हजार रुपैयाँबराबरको छात्रवृत्ति पाउनेछन् । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसनबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा स्नातक तहअन्तर्गत बीएससी आइटी अध्ययन गर्न पाउनेछन् ।

सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थामा प्लस टु वा सो सरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याएका विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् । छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघ र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइटमा भदौ २० भित्र आवेदन दिनुपर्नेछ ।

छात्रवृत्तिले दुर्गम क्षेत्रका विपन्न वर्गका विद्यार्थीले पनि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रलाई आफ्नो पेसा व्यवसाय बनाउन मद्दत पुग्ने क्यान महासंघका अध्यक्ष रणजितकुमार पोदारले बताए ।

क्यान महासंघसँगको सहकार्यले देशभित्र रहेको डिजिटल-डिभाइड कम गर्न मद्दत पुग्ने र भविष्यमा यस्तै कार्यमा अन्य संस्थालाई पनि सार्वजनिक-निजी साझेदारीको निम्ति प्रोत्साहन मिल्ने लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष पंकज जालानले बताए ।


रवि धिताल