मादमे खोला जलविद्युत आयोजनाको संरचना परिवर्तन, लागत १५ करोडले बढ्यो



काठमाडौं । गण्डकी प्रदेशको कास्कीमा बनिरहेको २४ मेगावाट क्षमताको मादमे खोला जलविद्युत आयोजनामा परिवर्तन गरिएको छ ।

कास्कीको मादी गाउँपालिकाको वडा नम्बर २ मा सो जलविद्युत आयोजना निर्माण भइरहेको छ । उक्त जलविद्युत आयोजनालाई मादमे खोला हाइड्रोपावर प्रालिले निर्माण गरिरहेको हो ।

आयोजनालाई लिएर पहिले स्वीकृत भएको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा भएभन्दा संचरना परिवर्तन हुने, आयोजनाका संरचनाहरुको स्थान, पहुँच सडकको लम्बाइलगायतमा परिवर्तन हुने भएकाले पुनः पुरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरिएको छ ।

नयाँ प्रतिवेदनअनुसार आयोजनालाई अब नदीको दायाँ नभई बायाँ किनारमा निर्माण गरिनेछ । त्यस्तै, आयोजनाको ग्रस हेडमा पनि परिवर्तन गरिएको छ । यसअघिको स्वीकृत प्रतिवेदनमा ५४२.५ मिटर रहेको ग्रस हेडलाई परिवर्तन गरी ५५५.३६४ मिटर प्रस्ताव गरिएको छ ।

आयोजनाको जडित क्षमता पहिलेकै जस्तो रहने भए पनि वार्षिक ऊर्जामा भने फरक हुने भएको छ । २४ हजार किलोवाट जडित क्षमता रहेको आयोजनाबाट यसअघि वार्षित ऊर्जा १३९.२८ गिगावाट आवर उत्पादन हुने भनिएकोमा नयाँ प्रतिवेदनअनुसार १४२.१९ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ ।

त्यस्तै, सतही प्रकारको विद्युत गृह बन्ने भनिएको आयोजनामा अब भने स्टिल संरचनाको विद्युत गृह बन्ने प्रस्ताव गरिएको छ ।

आयोजनाबाट यसअघि उत्पादन हुने विद्युतलाई गिड्रसँग जडान गर्न लेखनाथस्थित लेखनाथ सबस्टेसनमा जडान गर्ने भनिएको थियो । ११ किमी टाढा रहेको उक्त सबस्टेसनमा जडान गर्ने भनिएको विद्युतलाई अब भने १९ किमी टाढा रहेको अपर मादी जलविद्युत आयोजना तथा लेखनाथ सबस्टेसनसम्म जडान गर्ने प्रस्ताव गरिएको छ ।

१३२ केभीको सिंगल सर्किट प्रसारण लाइनबाट आयोजनाबाट उत्पादन हुने विद्युतलाई सुपर मादी जलविद्युत आयोजनासम्मको १३ किमी लामो प्रसारण लाइनबाट जडान गरिनेछ । यसअघि विद्युतलाई आयोजनाको विद्युत गृहदेखि सुपर मादी जलविद्युत आयोजनाको स्विचयार्डसम्म करिब १९ किमीको प्रसारण लाइनबाट जडान गरिने भनिएको थियो ।

आयोजनामा विभिन्न परिवर्तन गरिएकाले लागतमा पनि फरक परेको छ । आयोजनाको लागत यसअघिको ४ अर्ब ३२ करोड २९ लाख रुपैयाँबाट वृद्धि भई ४ अर्ब ४७ करोड ४५ लाख रुपैयाँ पुगेको छ । अब जलविद्युत आयोजना निर्माण भएपश्चात उत्पादन हुने प्रति किलोवाट विद्युतको लागत १६ करोड १८ लाख ९० हजार भएको छ । यसअघि त्यो १३ करोड ७० लाख ८३ हजार रुपैयाँ थियो ।


रवि धिताल