पर्यटन बोर्डलाई पाटा गोल्ड अवार्ड



काठमाडौं । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अबार्ड-२०२३ प्राप्त गरेको छ ।

पर्यटनका माध्यमबाट महिला सशक्तीकरणमा गरेको पहलकदमी, दिगोपन तथा सामाजिक उत्तरदायित्वका लागि पाटाले बोर्ड/एसटीएलआरपीलाई पाटा गोल्ड अवार्ड प्रदान गरिएको हो । पाटा मुख्यालयले बिहीबार विज्ञप्ति जारी गरी यो अवार्ड प्रदान गरेको जानकारी दिएको छ ।

परियोजनाले यसअघि २०२२ मा पनि टुरिजम डेस्टिनेसन रेसिलेन्सी विधाअन्तर्गत पाटा गोल्ड अर्वाड प्राप्त गरेको थियो । यस्तै २०२३ मा पनि पाटाबाट स्पेसल पाटा अवार्डसमेत प्राप्त गरेको थियो ।

सन् १९९५ बाट सुरु भएको यो अवार्ड यसपालि विभिन्न २३ संघसंस्थालाई विभिन्न विधामा प्रदान गरिएको छ । पुरस्कार अक्टुबर ५ मा नयाँदिल्लीमा आयोजना हुने पाटा ट्राभल मार्ट २०२३ को अवसरमा प्रदान गरिने बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले जानकारी दिए ।

पाटा अवार्ड प्राप्त गर्नुले परियोजनाले गरिरेहेका कामको मूल्यांकन भएको र बोर्डलाई थप कार्य गर्ने प्रोत्साहन मिलेको बोर्डका सीईओ तथा परियोजनाका राष्ट्रिय निर्देशक डा. धनञ्जय रेग्मीले बताए । ‘हामीले कोभिडको असरसँगै पर्यटकको उद्धारदेखि जनशक्ति विकास तथा केही पूर्वाधार विकासमा निरन्तर काम गर्दै आइरहेका छौं,’ उनले भने, ‘यसले थोरै भए पनि जनशक्ति उत्पादन तथा रोजगारी सिर्जनामा सहयोग गरेको छ ।’

बोर्ड तथा एसटीएलआरपीले कोभिड-१९ पछि महिला तथा अन्य पर्यटन मजदुरको क्षमता अभिवृद्धिसहित पर्यटकीय गन्तव्य निर्माणमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् ।


क्लिकमान्डु