हिमालयन बैंकद्वारा कान्ति बाल अस्पताललाई २० लाख सहयोग घोषणा



काठमाडौं । हिमालयन बैंकले महाराजगन्जस्थित कान्ति बाल अस्पताललाई २० लाख आर्थिक सहयोग प्रदान गर्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गर्ने निर्णय गरेको हो ।

सहयोग रकम कान्ति बाल अस्पतालले आफ्नो मुख्य प्रवेशद्वार निर्माण गर्न तथा अस्पताल हाताभित्र रहेको बाल उद्यान तथा वरपरको क्षेत्रको सौन्दर्यीकरणमा खर्च गर्नेछ ।

कान्ति बाल अस्पतालमा आज आयोजित कार्यक्रममा उक्त रकम प्रदान गर्ने सहमति भएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले कान्ति बाल अस्पताल विकास समितिका अध्यक्ष डा. बाबुराम गौतमलाई उक्त प्रतिबद्धता पत्र प्रदान गरेका छन् ।

सो अवसरमा अस्पतालका निर्देशक डा. युबानिधि बसौला,  बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडा, विजयमान नकर्मी, बैंकका महाराजगन्ज शाखा प्रमुख अभयबहादुर शाहलगायत बैंक र अस्पतालका अन्य कर्मचारीको उपस्थिति थियो ।

प्रमुख कार्यकारी अधिकृत राणाले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा विगतका वर्षहरुमा पनि सहयोग गर्दै आइरहेको तथा भविष्यमा पनि समाजको अति आवश्यक क्षेत्रमा निरन्तर सहयोग प्रदान गर्ने बताए ।


रवि धिताल