सेयर बजारको वृद्धिमा २ दिनमै ब्रेक, ३१ अंकको गिरावट



काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार ३१ अंकले घटेको छ । मंगलबार र बुधबार गरी ४७ अंकले बढेको बजार बिहीबार ३१.५२ अंकले ओर्लिएको हो ।

सबै उपसमूह राताम्य बनेपछि बिहीबार बजार २०१३.९३ अंकमा ओर्लिएको छ । बिहीबार विकास बैंक, वित्त, जीवन बिमा, निर्जीवन बिमा र जलविद्युत उपसमूह २ प्रतिशतभन्दा धेरैले घटेका छन् ।

बजार ओरालो लाग्दा पनि १७ कम्पनीका लगानीकर्ताले कमाएका छन् । गुमाउने कम्पनीको संख्या २०६ छ भने ४ वटाको मूल्यमा परिवर्तन भएन ।

कमाउने कम्पनीमा कुथेली भुखारी, मकर जितुमाया, सामुदायिक लघुवित्तलगायत छन् । बिहीबार कारोबार रकम भने सामान्य बढेको छ । आज २७५ कम्पनीको ४६ लाख ५७ हजार १३७ कित्ता सेयर १ अर्ब ५५ करोड ५ लाख रुपैयाँबराबरमा किनबेच भएको छ ।

बुधबार २७३ कम्पनीको १ अर्ब ५१ करोड ४ लाख रुपैयाँबराबरको ४२ लाख ३७ हजार ६९ कित्ता सेयर किनबेच भएको थियो ।

साताको सुरुको २ दिन आइतबार र सोमबार पनि बजार क्रमश: २१ र १२ अंकले घटेको थियो ।


रवि धिताल