बेथानचोक गाउँपालिकाका किसानलाई दुधमा अनुदान



काभ्रे । बेथानचोक गाउँपालिकाका किसानलाई दुध उत्पादन परिमाणका आधारमा अनुदान वितरण गरिएको छ ।

दुध उत्पादन र बजारीकरण गर्दै आएका जिल्लाका दुग्ध उत्पादक सहकारी संस्था, दुधको कारोबार गर्ने कृषि, बहुमखी र बहुद्देश्यीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा प्रतिफलमा आधारित प्रोत्साहन अनुदानबापत प्रदान गरिने रकमअन्तर्गत बेथानचोकका किसानलाई अनुदान वितरण गरेका हुन् ।

आधुनिक कृषि सहकारी संस्थाले थानी महांकाल डेरीमार्फत दुध बिक्री गर्ने कृषकलाई अनुदान रकम वितरण गरेको हो । सहकारीले थप अनुदान माग गरेको १० लाख ५८ हजार ३६ लिटर दुधमध्ये १० लाख ५२ हजार लिटर दुधमा अनुदान रकम प्राप्त गरेको बेथानचोक-२ का वडाध्यक्ष पुरुषोत्तम तिमल्सिनाले जानकारी दिए ।

उनका अनुसार सहकारीमा आबद्ध किसानलाई बागमती प्रदेश सरकारले दुध उत्पादनमा आधारित रही प्रतिलिटर दुधमा तीन रुपैयाँ ५६ पैसा अनुदान दिएको रकम हस्तान्तरण गरिएको हो । यस्तै सहकारीमार्फत बेथानचोकको २ र ३ नं वडाका एक सय ९६ किसान र पनौती नगरपालिकाका ९९ किसानले थप अनुदान रकम पाएका छन् ।

सहकारीले १० लाख ५८ हजार लिटर दुधमा ३७ लाख ४८ हजार पाँच सय ८३ अनुदान रकम पाएकामा बेथानचोकका किसानले २६ लाख नौ हजार ६ सय १५ र पनौतीका किसानले ११ लाख ३८ हजार ९ सय ३८ प्राप्त गरेका हुन् । एक किसानले कम्तीमा चार हजार तीन सय ४३ देखि अधिकतम ५० हजारसम्म अनुदान पाएका हुन् ।

गाउँपालिका अध्यक्ष भगवान अधिकारीले वर्ष दिन किसानले बिक्री गरेको दुधको परिमाणका आधारमा प्रदेश सरकारले दिएको अनुदान रकमले किसानलाई पशुपालनमा आकर्षित गरी थप दुध उत्पादन गर्न उत्प्रेरणा दिएको बताए ।

उनले युवा तथा किसानलाई व्यावसायिक कृषि तथा पशुपालनमा आकर्षित गर्न निःशुल्क कृत्रिम गर्भाधान सेवा तथा गाउँपालिका साक्षी बसेर सहुलियत दरमा कर्जा सुविधाको कार्यक्रम र तथ्यांक संकलन सकिएपछि ‘किसान परिचयपत्र’ वितरण गरिने तयारी गरिएको जानकारी दिए ।


रवि धिताल