दुई दिनमा ४७ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि उच्च वृद्धि



काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार २९ अंकले बढेको छ । नेप्सेमा सूचीकृत सबै उपसमूह उकालो लागेपछि समग्र बजार परिसूचक २९.४७ अंकले बढेर २०४५.४५ अंकमा उक्लिएको हो ।

बजार उच्च अंकले बढ्ला २०४ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने २० वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । तीनवटा कम्पनीको मूल्यमा कुनै परिवर्तन आएन ।

सबैभन्दा धेरै मूल्य बढ्नेमा चार हाइड्रो र एक लघुवित्त कम्पनी छन् । कुथेली बुखरी स्मल हाइड्रो, लिबर्टी इनर्जी, दोल्ती पावर, मायाखोला र समता घरेलु लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ ।

बुधबार २७३ कम्पनीको १ अर्ब ५१ करोड ४ लाख रुपैयाँबराबरको ४२ लाख ३७ हजार ६९ कित्ता सेयर किनबेच भएको छ । यो रकम मंगलबारको तुलनामा ४८ करोड बढी हो । मंगलबार १ अर्ब ३ करोड रुपैयाँको सेयर कारोबार भएको नेप्सेको तथ्यांकमा उल्लेख छ ।

मंगलबार पनि नेप्से परिसूचक १७.६९ अंकले बढेको थियो । तीन महिनापछि सोमबार २००० अंकभन्दा तल झरेको परिसूचक दुई दिनमा ४७.१६ अंकले बढेपछि २०४५ अंकमाथि पुगेको छ । नेप्से बढ्दा बुधबार कुल बजार पुँजीकरण ३० खर्ब ६२ अर्ब नाघेको छ ।

आइतबार र सोमबार नेप्से क्रमश: २१.९१ र १२.९३ अंकले घटेको थियो ।


क्लिकमान्डु