उपराष्ट्रपति सवार विमान अवतरण भएपछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल



काठमाडौं । निर्धारित समयभन्दा अघि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।

उपराष्ट्रपति रामसहायप्रसाद यादव चीन भ्रमण सकेर आज स्वदेश फर्कने तालिका अनुसार ३ बजेर २० मिनेटदेखि, ३ बजेर ५० सम्म विमानस्थल बन्द गर्ने सेड्युल भए पनि निर्धारित समयभन्दा करिब ४५ मिनेट अघि नै विमानस्थल बन्द गरिएको थियो । विमानस्थल २ बजेर २३ मिनेटदेखि ३ बजेर ६ मिनेटसम्म बन्द भएको थियो ।

चाइना इस्टर्नबाट स्वदेश फर्किएका उपराष्ट्रपति यादवको विमान निर्धारित समयभन्दा अगाडि आउने भएपछि विमानस्थल अघोषित रुपमा बन्द भएको थियो । तर यसबारे नोटाम सूचना (नोटिस टु एयरम्यान) सम्बन्धी कुनै औपचारिक जानकारी दिइएको एयरलाइन्स कम्पनीहरुको दाबी छ ।

विमानस्थल बन्द गर्नका लागि सूचना जारी गर्नु पर्ने भए पनि त्यस्तो कुनै सूचना विमानस्थलले जारी नगरेको एयरलाइन्स कम्पनीहरुको दाबी छ ।

उपराष्ट्रपतिको विमान अवतरण भएपछि विमानस्थल सञ्चालनमा आएको हो । उपराष्ट्रपति सवार विमान २ बजेर ५४ मिनेटमा अवतरण भएको थियो ।

उपराष्ट्रपति यादव साउन २९ गते चीन प्रस्थान गरेका थिए । उनी कुनमिङमा आयोजना भएको सातौं चीन–दक्षिण एसिया एक्स्पो तथा २७ औं चीन आयात–निर्यात एस्क्पोमा सहभागी भएका थिए ।


क्लिकमान्डु