भारतले निर्यातमा कर लगाएको भोलिपल्टै प्याजको मूल्यमा २८ प्रतिशत वृद्धि



काठमाडौं । शनिबार भारतको वित्त मन्त्रालयले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएसँगै नेपाली बजारमा प्याजको मूल्य वृद्धि भएको छ ।

प्याजका लागि भारतमाथि नै निर्भर रहेको नेपालमा भारतको निर्णयको प्रभाव देखिएको हो । नेपालमा आइतबारको तुलनामा सोमबार प्याजको मूल्यमा करिब २८ प्रतिशतले वृद्धि भएको छ ।

भारतको केन्द्र सरकारले विगतमा नरहेको प्याजको निर्यातमा कर लगाउने व्यवस्था गरेको थियो । प्याजको निर्यातलाई निरुत्साहित गर्दै भारतमा भइरहेको मूल्य वृद्धिलाई नियन्त्रणमा लिनका लागि त्यहाँको सरकारले ४० प्रतिशत कर लगाउने निर्णय गरेको थियो ।

शनिबार भएको उक्त निर्णयपश्चात् पनि आइतबार नेपालमा प्याजको मूल्य स्थिर नै थियो । शनिबार प्रतिकेजी ६१ रुपैयाँ रहेको सुकेको भारतीय प्याज आइतबार पनि सोही मूल्यमा बिक्री भएको थियो ।

सोमबार भने सुकेको भारतीय प्याजको मूल्यमा २७.८७ प्रतिशतले वृद्धि भएको छ । आज (सोमबार) कालिमाटी तरकारी बजारमा प्याजको मूल्य ७८ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यस्तै, हरियो प्याजको मूल्यमा ४१.४६ प्रतिशतको वृद्धि देखिएको छ । भारतले निर्यातमा कर लगाउनुअघि गत शनिबारको तुलनामा आइतबार हरियो प्याजको मूल्य घटेको थियो । १४० रुपैयाँ प्रतिकेजी शनिबार बिक्री भएको उक्त प्याज आइतबार १३६ रुपैयाँ प्रतिकेजी मूल्यमा थियो । सोमबार भने हरियो प्याजमा उच्च वृद्धि देखिएको छ ।

हरियो प्याज प्रतिकेजीमा आइतबार रहेको १३६.६७ रुपैयाँबाट वृद्धि भएर १९३.३३ प्रतिशत पुगेको छ ।


क्लिकमान्डु