साउनमा सरकारले लियो १५ अर्ब ३४ करोड ऋण



काठमाडौं । साउनमा सरकारले १५ अर्ब ३४ करोड रुपैयाँ ऋण लिएको छ । महालेखा नियन्त्रक कार्यालयले तयार गरेको तथ्यांकअनुसार सरकारले साउनमा १३ अर्ब ५९ करोड ९ लाख आन्तरिक र १ अर्ब ७५ करोड ३९ लाख बाह्य गरी कुल १५ अर्ब ३४ करोड ४९ लाख रुपैयाँ ऋण लिएको हो ।

विगतका वर्षहरुमा असोजपछि मात्रै आन्तरिक ऋण उठाउने गरेको सरकारले चालू आर्थिक वर्षमा साउनमै आन्तरिक ऋण उठाएको हो । गत आर्थिक वर्षको अन्त्यमा संघीय सरकारको सञ्चित कोष १ खर्ब ७९ अर्ब रुपैयाँले घाटामा गएपछि खर्च व्यवस्थापनका लागि साउनमै ऋण लिने दबाबमा सरकार परेको हो ।

चालु आर्थिक वर्षमा सरकारले आन्तरिक र बाह्य ऋणबाट ४ खर्ब ५२ अर्ब ७४ करोड रुपैयाँ स्रोत जुटाउने लक्ष्य राखेको छ । सरकारले चालू आर्थिक वर्षमा २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदा २ खर्ब १२ अर्ब ७४ करोड रुपैयाँ वैदेशिक ऋण उठाउने लक्ष्य राखेको छ ।

गत आर्थिक वर्षको असार मसान्तमा नेपाल सरकारको कुल ऋण २२ खर्ब २१ अर्ब ६७ करोड रुपैयाँ छ । त्यसमा ११ खर्ब २८ करोड रुपैयाँ आन्तरिक ऋण र १० खर्ब ९३ अर्ब रुपैयाँ बाह्य ऋण छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा नेपाल सरकारको कुल ऋण २४ खर्बमाथि पुग्ने निश्चित छ ।


क्लिकमान्डु