
काठमाडौं । विश्वप्रसिद्ध कोरियन पप समूह ‘विटिएस’ ले दुई वर्षको अनिवार्य सैनिक सेवा पूरा गरी आज मार्च २१ का दिन नयाँ एल्बम र नेटफ्लिक्समार्फत लाइभ कन्सर्ट सार्वजनिक गर्दै गर्दा नेपालका चर्चित गायक तथा सर्जक प्रकाश सपूतले पनि आफ्नो राजनीतिक यात्रा र आगामी सोचबारे एक भावुक धारणा सार्वजनिक गरेका छन्।
विटिएसका सदस्यहरूले देशका लागि दुई वर्ष समय दिए झैँ आफूले पनि जीवनको पाँच वर्ष देशको कार्यकारी निकायमा बसेर सेवा गर्ने सपना बुनेको सपूतले उल्लेख गरेका छन्।
हालैको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत निर्वाचनमा होमिएका सपूतले आफू प्रतिनिधि सभामा पुग्न नपाए पनि आफ्नो उद्देश्य पूरा भएकोमा खुसी व्यक्त गरेका छन्।
सपूतले निर्वाचनमा होमिनुको मुख्य तीन उद्देश्य रहेको स्पष्ट पारेका छन् । पहिलो पुरानो राजनीतिक अभ्यास र भ्रष्टाचार अन्त्यका लागि रास्वपालाई नयाँ शक्तिको रूपमा स्थापित गर्न सहयोग गर्ने, दोश्रो बालेन शाहको नेतृत्वमा स्थायी सरकार निर्माणका लागि खुलेर लाग्ने र तेश्रो स्थापित नयाँ शक्तिलाई उत्पीडित र उपेक्षित समुदायको मुद्दाबारे निरन्तर झकझकाउने।
आफू संसदमा पुग्न नपाए पनि ‘उत्कृष्ट अंक ल्याएर पास भएको स्कुले विद्यार्थी’ जस्तै हर्षित रहेको उनले बताएका छन्।
उनले भनेका छन्, ‘मैले मेरो निम्ति भोट मागिनँ, समग्र परिवर्तनका लागि मागें, र आज परिवर्तन सम्भव भएको छ।’
एक उत्पीडित समुदायमा जन्मिएको र हुर्किएको उल्लेख गर्दै सपूतले बाल्यकालमा विभेदका कारण मनमा उग्र विद्रोहको सोच आउने गरेको स्मरण गरेका छन्। विगतका राजनीतिक आन्दोलनहरूमा सहभागी हुन नसकेकोमा पछुतो मान्दै उनले यसपटक ‘जेन-जी’ आन्दोलन र नयाँ राजनीतिक लहरको सारथी बन्न खोजेको बताएका छन्।
उनले सांसद भएर विशेष गरी दलित अधिकार, रैथाने संस्कृति र पर्यटन प्रवर्द्धनमा नीतिगत काम गर्ने योजना बनाएको समेत खुलाएका छन्।
समानुपातिक सूचीमा नअटेपछि रास्वपा सभापति रवि लामिछानेसँग भएको टेलिफोन संवादबारे चर्चा गर्दै सपूतले कुनै पनि राजनीतिक नियुक्ति वा पद नलिने घोषणा गरेका छन्। सभापति लामिछानेले उनलाई पार्टीमा बसेर योगदान गर्न वा स्वतन्त्र रूपमा खबरदारी गर्न आग्रह गरेका थिए।
जवाफमा सपूतले भनेका छन्, ‘चुनावका क्रममा बिराटनगरको सडकमा हाते माइक लिएर गाउँदा म भित्रको स्टार कलाकार रोएको थियो, तर आज देशले पाएको नेतृत्व देख्दा खुसी लागेको छ। अब म आफ्नो राजनीतिक चेतको भारी बिसाएर केवल एक मनोरन्जनकर्ताका रूपमा फर्कन चाहन्छु।’
आफ्नो कलाकारिताको कद घटेमा गाउँ फर्किएर हलो जोत्न पनि तयार रहेको उल्लेख गर्दै उनले अब ढुक्कसँग जनतालाई मनोरन्जन दिने र समाजको नजरमा एक समान मान्छे भएर बाँच्ने सङ्कल्प गरेका छन्। परिवर्तनको साक्षी बन्न पाएकोमा उनले गौरव व्यक्त गरेका छन्।








प्रतिक्रिया