१ अर्ब लागतमा तेह्रथुमस्थित चुहानडाँडा विमानस्थल बन्दै
काठमाडौं । कोशी प्रदेशको तेह्रथुम जिल्लामा करिब एक अर्ब लागतमा चुहानडाँडा विमानस्थल बन्ने भएको छ । आयोजनाका वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनकाअनुसार करिब ११ हेक्टर क्षेत्रफलमा विमानस्थलको निर्माण हुने भएको हो ।
प्रतिवेदनकाअनुसार विमानस्थलमा ६४० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग निर्माण हुनेछ । त्यस्तै, ट्याक्सी मार्ग ३० मिटर लम्बाई १५ मिटर चौडाईको रहनेछ भने धावनमार्गको स्ट्रिप ७ सय मिटर लम्बाई र ६० मिटर चौडाईको रहनेछ । विमानस्थलको एप्रोन भने ६० मिटर लम्बाई र ३० मिटर चौडाई रहने प्रतिवेदनमा उल्लेख छ ।
विमानस्थलबाट डिएससि–६ ट्विन अट्टर, एलईटि–४१९, डोर्नियर–२२८ वा सो सरहका विमानहरु सञ्चालन हुनेछन् । २ वटा विमान पार्किङ गर्न सकिने विमानस्थलमा यात्रीको क्षमता ५४ रहेको छ । त्यस्तै, सवारी पार्किङका लागि १५ सय वर्गमिटरको क्षेत्रफल रहने प्रतिवेदनमा उल्लेख छ । विमानस्थलमा टर्मिनल भवन, कर्मचारी कक्ष, पुलिस कक्ष र कार्गो भवनजस्ता संरचना रहनेछन् । विमानस्थलमा दुवैतर्फी रुपमा एप्रोच गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।
विमानस्थल बन्ने क्षेत्रमा रहेको जग्गाको हालको अवस्था कृषिका लागि प्रयोग गरिने, बाँझो र बस्ती भएको प्रतिवेदनमा उल्लेख छ । विमानस्थलको निर्माण हँदा तेह्रथुम जिल्लाको आठराई गाउँपालिका वडा नम्बर ६ का बासिन्दा तथा बस्तीहरु प्रभावित हुनेछन् । १३ घरधुरी र ३ हजार २८ जना प्रभावित हुने प्रतिवेदनमा उल्लेख छ ।
विमानस्थल निर्माण हुँदा २१ आवासलगायतका संरचनाहरु, ९.१४९ हेक्टर खेतीयोग्य जमिन, आवास क्षेत्रसहितको नीजि वनलगायतमा प्रभाव पर्नेछ ।
विमानस्थल निर्माण गर्दा १ सय अदक्ष, ३९ अर्धदक्ष र ४० जना दक्ष्य कर्मचारीलाई रोजगारी दिइने प्रतिवेदनमा उल्लेख छ ।