सेयर धितोमा प्रवाह हुने कर्जा ५.२ प्रतिशतले घट्यो



काठमाडौं । सेयर बजारमा देखिएको उतार चढाबको प्रभाव सेयर धितो कर्जामा देखिएको छ । आर्थिक वर्ष २०७९/०८० को असार मसात्तसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने कर्जा ५.२ प्रतिशतले घटेको छ ।

एक वर्षको अवधिमा सेयर धितोमा जाने कर्जा ५.२ प्रतिशतले घटेर ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ । गत असारमा बैंक तथा वित्तीय संस्थाबाट ८० अर्ब ५० करोड ७८ लाख रुपैयाँ सेयर धितोमा कर्जा गएको थियो ।

राष्ट्र बैंककाअनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा प्रवाह बढेको छ ।
बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने ५० लाख देखि १ करोडसम्मको कर्जा ११.५ प्रतिशतले बढेर ११ अर्ब ७७ करोड ४५ लाख रुपैयाँ पुगेको छ । गत असारमा १० अर्ब ५६ करोड रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंककाअनुसार १ करोड भन्दा माथिको, २५ लाख देखि ५० लाख र २५ लाख भन्दा कमको सेयर धितोमा जाने कर्जा घटेको छ ।
राष्ट्र बैंककाअनुसार १ करोडभन्दा माथिको सेयर धितोमा जाने कर्जा ४ प्रतिशतले घटेको छ । गत असारमसान्तमा बैंक तथा वित्तीय संस्थाबाट ४४ अर्ब ५७ करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यो असार मसान्तमा घटेर ४४ अर्ब ७१ करोड ६१ लाख रहेको छ ।

यस्तै २५ देखि ५० लाख रुपैयाँसम्म धितोमा जाने कर्जा पनि घटेको छ । गत असार मसान्तसम्म १५ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह भएकामा यो असार मसान्तसम्म आइपुग्दा १५.९ प्रतिशतले घटेर १२ अर्ब ७८ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ।

राष्ट्र बैंकका अनुसार २५ लाखभन्दा कम धितोमा जाने कर्जा असार मसान्तसम्म १३.९ प्रतिशतले घटेर ७ अर्ब ३ करोड ५९ लाख रुपैयाँमा सिमित भएको छ । गत असार मसान्तमा ८ अर्ब १७ करोड १४ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

गत आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितोमा प्रवाह हुने कर्जा सीमाको जोखिम भारमा गरेको व्यवस्थाको असर सेयर धितो कर्जामा परेको गुनासो लगानीकर्ताको रहेको छ ।

राष्ट्र बैंकले सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाखसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था गरेको थियो ।


क्लिकमान्डु