साउनमा उठ्यो गत वर्षभन्दा २.३ प्रतिशत कम राजस्व, सरकारलाई खर्च व्यवस्थापनको दबाव



काठमाडौं । सरकारले चालु आर्थिक वर्षको साउन महिनामा गत वर्ष बराबर पनि राजस्व संकलन गर्न सकेन । गत वर्ष साउनमा ९० अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन गरेको सरकारले चालु आर्थिक वर्षको साउन महिनामा ८८ अर्ब १४ करोड रुपैयाँ मात्रै राजस्व संकलन गर्न सकेको छ ।

साउनमा सरकारले ९९ अर्ब ५७ करोड रुपैयाँ राजस्व संलकन गर्ने लक्ष्य राखेको थियो । तर, सरकारले साउनमा गत वर्षभन्दा २.३ प्रतिशत कम र लक्ष्यभन्दा ११.४७ प्रतिशत कम राजस्व संकलन गर्न सकेको छ ।

भन्सार विभाग र आन्तरिक राजस्व विभागले गत वर्षभन्दा बढी राजस्व संकलन गरे पनि लक्ष्य अनुसार अन्य प्राप्ति र गैरकर संकलन नहुँदा समग्र राजस्व लक्ष्य प्रभावित भएको हो ।

साउनमा भन्सार विभागले गत वर्षभन्दा १.४४ प्रतिशत बढी र आन्तरिक राजस्व विभागले गत वर्षभन्दा १.६ प्रतिशत बढी राजस्व संकलन गरेका छन् ।

साउनमा भन्सार विभागले ३९ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३२ अर्ब ६६ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको छ । गत वर्ष साउनमा विभागले ३२ अर्ब १९ करोड रुपैयाँ मात्रै संकलन गरेको थियो ।

चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन गर्न गत वर्षभन्दा ६०.३६ प्रतिशत राजस्व संकलन गर्नु पर्नेमा विभागले साउन महिनामा विभागले गत वर्ष भन्दा १.४४ प्रतिशत मात्रै बढी राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्ष ३ खर्ब ९१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको विभागलाई चालु आर्थिक वर्षमा ६ खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने जिम्मेवारी दिइएको छ ।

साउनमा ४९ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको आन्तरिक राजस्व विभागले ४० अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्ष साउनमा विभागले ३९ अर्ब ८६ रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो ।

चालु आर्थिक वर्षमा गत वर्ष भन्दा ४१ प्रतिशत बढी राजस्व उठाउने लक्ष्य लिएको विभागले गत वर्ष भन्दा १.६ प्रतिशत मात्रै बढी राजस्व उठाउन सकेको छ ।

गत वर्ष ४ खर्ब ७९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको आन्तरिक राजस्व विभागलाई चालु आर्थिक वर्षमा ६ खर्ब ७७ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य दिईएको छ ।

गत वर्ष १० खर्ब १० अर्ब रुपैयाँ राजस्व संकलन गरेको सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

गत वर्ष भन्दा ४०.७९ प्रतिशत बढी राजस्व संकलन भएमात्रै चालु आर्थिक वर्षको लक्ष्य पूरा हुनेमा सरकारले चालु आर्थिक वर्षको साउनमा गत वर्षभन्दा २.३ प्रतिशत कम राजस्व संकलन गरेको हो ।


क्लिकमान्डु