साउनमा भन्सार विभागले उठायो लक्ष्यभन्दा १८ प्रतिशत कम राजस्व, गत वर्षभन्दा १.४४ प्रतिशत बढी



काठमाडौं । साउनमा लक्ष्यअनुसार राजस्व संकलन गर्न भन्सार विभाग असफल भएको छ । साउनमा विभागले ३९ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३२ अर्ब ६६ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको छ ।

चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन गर्न गत वर्षभन्दा ६०.३६ प्रतिशत राजस्व संकलन गर्नु पर्नेमा विभागले साउन महिनामा विभागले गत वर्षभन्दा १.४४ प्रतिशत मात्रै बढी राजस्व संकलन गरेको छ ।

विभागले गत वर्ष साउनमा पनि लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको थिएन । गत वर्ष साउनमा ३९ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा विभागले ३२ अर्ब १९ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो ।

चालु आर्थिक वर्षको साउनमा गत वर्षभन्दा केही बढी राजस्व संकलन भए पनि समग्रमा राजस्व लक्ष्यपूरा गर्न अहिलेको वृद्धीदर पर्याप्त भने हुने छैन ।

गत आर्थिक वर्ष ३ खर्ब ९१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको विभागलाई चालु आर्थिक वर्षमा ६ खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने जिम्मेवारी दिइएको छ ।

लक्ष्यअनुसार राजस्व संकलन गर्न विभागलाई ६०.३६ प्रतिशतको वृद्धीदर आवश्यक छ ।

भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्का आयात नबढ्दासम्म विभागले राजस्व बढाउन नसक्ने बताउँछन् ।

‘गत वर्षहरुमा लक्ष्यको ५६/५७ प्रतिशत राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षमा लक्ष्यको ८२ प्रतिशत राजस्व संकलन हुनुलाई सकारात्मक मान्नु पर्छ, ’खड्काले भने, ‘भन्सार जाँचपास हुने ट्रकको संख्या नबढ्दासम्म राजस्व बढ्ने सम्भावना हुँदैन ।विभागले चोरी तस्करी र गलत मूल्यांकन राजस्व प्रभावित हुन नदिन भन्सार बिन्दुमा कडाइ गरेको छ ।’

खड्का वीरगञ्ज भन्सारमा कारोबार नबढ्दासम्म राजस्व बढ्न नसक्ने बताउँछन् । ‘साउनमा वीरगञ्ज भन्सारले लक्ष्यको ७५ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ’ खड्काले‍ भने,‘ वीरगञ्जको योगदान बढेको भए लक्ष्यको ९० प्रतिशतसम्म राजस्व संकलन हुने थियो ।’


क्लिकमान्डु