साउनमा आन्तरिक राजस्वले उठायो लक्ष्यको ८२ प्रतिशत राजस्व, गत वर्षभन्दा १.६ प्रतिशत बढी



काठमाडौं । चालु आर्थिक वर्षको साउनमा पनि लक्ष्यअनुसार राजस्व संकलन गर्न आन्तरिक राजस्व विभाग असफल भएको छ।

साउनमा ४९ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको विभागले ४० अर्ब ५० करोड रुपैयाँ मात्रै राजस्व उठाउन सकेको हो ।
चालु आर्थिक वर्षमा गत वर्षभन्दा ४१ प्रतिशत बढी राजस्व उठाउने लक्ष्य लिएको विभागले गत वर्षभन्दा १.६ प्रतिशत मात्रै बढी राजस्व उठाउन सकेको छ ।

गत वर्ष पनि साउनमा विभागले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको थिएन । विभागले गत साउनमा ४३ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३९ अर्ब ८६ रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो ।

चालु आर्थिक वर्षमा गत वर्षमा ६४ करोड रुपैयाँ बढी राजस्व संकलन भए पनि लक्ष्यभन्दा १८ प्रतिशत कम राजस्व संकलन भएको छ ।

गत वर्ष ४ खर्ब ७९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षमा ६ खर्ब ७७ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।

विभागले लक्ष्यअनुसार राजस्व संकलन गर्न गत वर्षभन्दा ४१ प्रतिशत बढी राजस्व उठाउनु पर्छ । तर, चालु आर्थिक वर्षको पहिलो महिनामै लक्ष्यअनुसार राजस्व संकलन नहुँदा विभागलाई लक्ष्य पूरा गर्न कठिन हुने देखिन्छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घ मैनाली अर्थतन्त्र चलायमान हुँदै गएकाले आगामी दिनमा लक्ष्यअनुसार राजस्व संकलन हुने बताउँछन् ।

‘गत वर्ष लक्ष्यको ७६/७७ प्रतिशत राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको साउनमा लक्ष्यको ८२ प्रतिशत राजस्व संकलन भएको छ,’ मैनालीले भने, ‘घरजग्गा कारोबार बढ्दै गर्दा अर्थतन्त्र थप चलायमान हुने र राजस्व बढ्ने अपेक्षा छ ।’


क्लिकमान्डु