एमसीसीअन्तर्गतको प्रसारण लाइनका लागि नवलपरासीमा जग्गा अधिग्रहण गरिँदै, यी ठाउँमा भयो जग्गा रोक्का
काठमाडौं । मिलेनियम च्यालेन्ज अकाउण्ट नेपाल विकास समिति (एमसए–नेपाल)ले एमसीसी अन्तर्गत निर्माण गरिरहेको प्रसारण लाइनका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा जग्गा अधिग्रहण सुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले एक सूचना प्रकाशित गर्दै जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको जानकारी दिएको हो । जसअनुसार एमसीए–नेपालले निर्माण गर्ने विद्युत प्रसारण लाइन आयोजनाअन्तर्गत नेपाल भारत सिमानादेखि नयाँ बुटवल सबस्टेसन र नयाँ बुटवल सबस्टेसनदेखि नयाँ दमौली सबस्टेसन खण्डअन्तर्गत जिल्लामा पर्ने जग्गाहरु अधिग्रहणका लागि प्रक्रिया थालिएको हो ।
प्रसारण लाइन निर्माणका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको पाल्हिनन्दन गाउँपालिका, रामग्राम नगरपालिका, सुनबल नगरपालिका र बर्दघाट नगरपालिकामा पर्ने जग्गाहरु अधिग्रहण गरिनेछन् ।
जिल्ला प्रशासन कार्यालयले प्रकाशित गरेको सूचनाकाअनुसार अधिग्रहण गरिने जग्गाहरु रोक्का गरिएको छ र जग्गा धनि वा सरोकारवालाहरुलाई सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्नका लागि निवेदन दिन पनि भनिएको छ ।
नेपाल भारत सिमानादेखि नयाँ बुटवल सबस्टेसनसम्मका लागि अधिग्रहण गरिने जग्गाहरु पाल्हिनन्दन गाउँपालिकाको वडा नम्बर १, २, ३, रामग्राम नगरपालिका वडा नम्बर १७, ८, १२, १३, ११, १, सुनबल नगरपालिका वडा नम्बर १३ का रहेका छन् भने नयाँ बुटवलदेखि नयाँ दमौलीअन्तर्गतका लागि सुनबल नगरपालिका वडा नम्बर ११, १३, १२, बर्दघाट नगरपालिका वडा नम्बर २मा रहेका जग्गाहरु रहेका छन् ।
यी जग्गाका धनि तथा सरोकारवालालेम २१ दिनभित्रमा मुआब्जा तथा क्षतिपूर्तिका लागि निवेदन दिन सक्ने र जग्गा प्राप्त गर्नु नपर्ने कुनै कारण भएमा ७ दिनभित्रमा जिल्ला कार्यालयमार्फत गृहमन्त्रालयमा उजुरी दिन सक्ने छन् ।
प्रसारण लाइनमा हुने टावरहरुका लागि निर्माण गरिने टावर प्याडमा पर्ने जग्गाको कितहरुको सन्दर्भमा भने एकिन भइसकेपछि पुनः सूचना प्रकाशित गरिने जनाइएको छ ।
यसअघि प्रसारण लाइन निर्माणका लागि चितवन, नवरपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पालगायतमा पनि जग्गा अधिग्रहणका लागि प्रक्रिया सुरु गरिएको थियो ।