अहिले समृद्ध नेपाल-सुखी नेपाली होइन, खुसी बालुवाटार-दु:खी नेपाली भए: मोतिलाल दुगड



काठमाडौं । व्यवसायीसमेत रहेका नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख मोतिलाल दुगडले अहिले उद्योगीहरु पीडामा रहेको बताएका छन् ।

नेकपा एमालेलेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको मुलुकको वर्तमान आर्थिक अवस्था-समस्या र समाधान विषय छलफल कार्यक्रम विभागका प्रमुख दुगडले उद्योगीहरुमा ‘कहाँ जाउँ र के गरौं’ भन्ने पीडाको अवस्था रहेको बताए ।

अर्थतन्त्र संकटमा रहेकाबेला हरेक दिन नयाँ नयाँ प्रकरण ल्याएर जनताको ध्यान अन्यत्र मोडने काम भइरहेको उनले बताए ।उद्योगी व्यवसायीको कुरा नसुन्ने ‘प्रचण्ड’ सरकार हो कि ‘प्रकाण्ड’ सरकार हो भन्दै उनले प्रश्न गरे ।

निजी क्षेत्रको कुरा नबुझेर सरकारले थर्काउने काम गरेको उनको दाबी छ ।राज्यलाई कर तिर्ने उद्योगी व्यबसायीलाई सरकारले नचिनेको उनको भनाइ छ ।

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा अर्थतन्त्र चलायमान भएको, राष्ट्रियता कमजोर नभएको, कसैलाई दु:खी बनाउने काम नगरेको उनको भनाइ थियो ।

दुगडले ‘अब त अति भयो, देशलाई खति’ भयोभन्दै निजी क्षेत्रलाई दुखित नहुन आग्रह गरे । देशमा आर्थिक संकट मौलाएको, उद्योगीलाई टिक्न गारो भएको, उद्योगीलाई प्रतिशोधपूर्ण व्यवहार गरेको, सानो गल्ती भए सिधै जेल हाल्ने काम सरकारले गरेको भन्दै उनले कतै बोल्ने ठाउँ नभएको तर्क गरे ।

अहिले समृद्ध नेपाली सुखी नेपाली नभएको तर खुसी बालुवाटार दु:खी नेपाली भएको उनको टिप्पणी थियो ।

सरकारले चाहे बैंक ब्याजदर बढाउन रोक्न सक्ने, राज्यले धम्कीको शैलीमा राजस्व उठाउने तर, त्यो राजस्व बाटैबाट हराउने गरेको दाबी गरे । राज्यले उद्योगी सिध्याउने खेल खेलेको उनको तर्क थियो ।

एमालेको सरकार हुँदा निजी क्षेत्रलाई रातो कार्पेट ओछ्याएर ज्वाइँ ठानेर स्वागत गर्ने गरेको भए पनि यो सरकारले सिधै जेल हाल्ने गरेको उनले बताए ।


क्लिकमान्डु