अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा रुपान्तरणमा ठूलो फड्को: अञ्जन श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले न्यून आय र जोखिममा रहेका अनौपचारिक श्रमिकहरुको लागि सुरु गरिन लागेको सामाजिक सुरक्षाको कार्यक्रमबाट त्यो क्षेत्रमा रहेका लाखौं लाख श्रमिक लाभान्वित हुने बताएका छन् ।
अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगार व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको शुभारम्भको अवसरमा बुधबार वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सामाजिक सुरक्षा जस्तो अत्यन्त आवश्यक र महत्वपूर्ण व्यवस्थाको सुरुआत भएको बताए ।
अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई लक्षित गरी सुरु भएको सामाजिक सुरक्षा योजनाले श्रमिकको सुरक्षा र सामाजिक रुपान्तरणमा ठूलो फड्को मार्ने उनको विश्वास छ ।
यो योजनाको कार्यान्वयनले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकको जोखिम न्यूनिकरणका साथै औपचारिक करनको प्रकृयामा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे । आफ्नो आम्दानीबाट सामाजिक सुरक्षाको लागि गरेको योगदान रकमबाट आपद विपद पर्दा, विरामी हुँदा, दुर्घटना पर्दा, अशक्त हुँदा र वृद्ध अवस्थामा सुविधा पाउने एउटा बलियो आधार हुने बताए ।
सामाजिक सुरक्षा प्रणाली जटिल र चूनौतिपूर्ण व्यवस्था भएकाले योजनाको सुरुआतसँगै थुप्रै चुनौतीहरु आउने उनको भनाइ छ।
अथर्तन्त्रको ठूलो हिस्सा करिब ८५ प्रतिशत अनौपचारिक रहेको भन्दै उनले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकको निश्चित संख्या यकिन नभएको तर करिब ५० लाख भन्दा बढी श्रमिक अनौपचारिक क्षेत्रमा रहेको अनुमान रहेको उनको भनाइ छ ।
श्रमिकको पहिचान र सूचिकरण नभएको स्थितिमा त्यो क्षेत्रमा रहेका श्रमिकलाई कोषमा सूचीकरण गराउने काम कठिने हुने श्रेष्ठले बताए । सूचीकरणपछि नियमित योगदान संकलन र दाबी भुक्तानीको व्यवस्थापन पनि उत्तिकै चूनौतीपूर्ण रहने उनको भनाइ छ ।
बढीभन्दा बढी श्रमिक र नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु पर्ने बताउँदै यसको प्रभावकारी कार्यान्वयन र दिगोपनमा ध्यान दिनुपर्ने बताए ।