मदर टेरेसा, ज्याक मा लगायतले पाएको एशियन अवार्डबाट सम्मानित हुँदै विनोद चौधरी
काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष समेत रहेका सांसद विनोद चौधरीलाई एशियन अवार्डले ‘फिल्यान्थ्रोपिस्ट अफदिइयर २०२३’ बाट सम्मान गर्ने भएको छ । दुबईस्थित ‘म्यूजियम अफ दि फ्युचर’ भवनमा ७ अक्टोबरमा चौधरीलाई अवार्डद्वारा सम्मानित गर्ने कार्यक्रम रहेको छ ।
चौधरीलाई यस अवार्डका पूर्व विजेता, सेलिब्रेटी र प्रतिष्ठित अतिथीहरूकाबीच हुने एक भब्य समारोहमा यस अवार्डबाट सम्मान गर्ने कार्यक्रम छ ।
एशियन अवार्डले व्यवसाय, कला, प्रविधि, राजनीति, खेलकुद र समाजसेवामा उत्कृष्ट योगदान पुर्याउने प्रतिभालाई सम्मान गर्दै आएको छ ।
यस अवार्डबाट यसअघि आर्ट अफ लिभिङका सस्थापक श्री श्री रविशंकर, सर वेन किङ्स्ले, ब्रुसली, क्रिकेटर सचिन तेन्दुलकर, व्यवसायी ज्याकमा, मदर टेरेसा, फ्रेडी मर्करी, अभिनेता ज्याकी च्यानलगायत सम्मानित भएका छन् ।
फोर्ब्समा सूचीकृत नेपालका एकमात्र अर्बपति उद्योगी चौधरीले आफ्नो फाउन्डेसनमार्फत नेपालमा प्रभावकारी रुपमा सामाजिक कार्यहरु गर्दै आएका छन् ।
उनले फाउन्डेसनमार्फत नेपालमा सन् २०१५मा गएको महाभुकम्पका समयमा भूकम्प पीडितका लागि करिव तीन हजार घर बनाएर भूकम्पबाट अत्यन्तै प्रभावित १० जिल्लाका पीडितहरुलाई हस्तान्तरण गरेका थिए । त्यस्तै, चौधरी फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६१ ओटा पक्की घर निर्माण गरेको थियो । भुकम्पका बेलामा गरेको योगदानमाथि फोब्र्स एसियाले विनोद चौधरीको कभर स्टोरी छापेको थियो ।
विनोद चौधरीको नेतृत्वमा रहेको चौधरी फाउन्डेसनले सन् २०१९ मा सुरु भएको कोभिड महामारी पश्चात कोभिड प्रभावित सर्वसाधारण नेपाली नागरिकको उपचारलाई सहज बनाउन वीर अस्पतालमा १८ बेडको आईसीयू निर्माण गरि सञ्चालनमा ल्याएको थियो ।
चौधरीका यस्तै कार्यहरुलाई सम्मान गर्दै उक्त अवार्ड वितरण गर्न लागिएको हो ।