महराले भने: सुन प्रकरणमा सघाउन तयार छु, तर बोलाउँदैनन् के गर्नु ?
दाङ । पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणको अनुसन्धानका लागि आफू सघाउन तयार रहेको बताएका छन् ।
दाङमा पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर आएको विषयमा अनुसन्धानका लागि सघाउन तयार रहेको बताएका हुन् । त्यसका लागि आफूलाई बोलाउन भने पनि नबोलाइएको उनको भनाइ छ ।
‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु भनेर भन्दै आएको छु । अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । तर बेलाउँदैनन् त के गर्नु ?’
उनले सुन तस्करी प्रकरणमा जोडिएको भनिएका चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको बबी गरे ।
महराले आफूलाई सुन प्रकरणमा विनाकारण मुछिएको र सञ्चारमाध्यममा गलत प्रचार भइरहेको गुनासो गरे ।
उनले चिनियाँ नागरिक वाङसँग आफूले फोन सम्पर्क नगरेको दाबी गरे । वाङले आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन आग्रह गरेको बताए । तर आफूले दबाब नदिएको र कानुन अनुसार हेरर गर्नु भनेर भन्सारमा भनेको उनले दाबी गरे ।
‘चुरोटमा के छ भनेर मलाई थाहा भएन, मैले भन्सारका साथीहरुलाई कुराकानी गरेर कानुन अनुसार हेरेरमात्र काम गर्नुहोला, रोक्नु पर्ने भए रोक्नु होला’ उनले भने ।