प्राधिकरणले गुणस्तरीय बिजुली नदिँदा ५८ प्रतिशत उद्योग जेनेरेटर प्रयोग गरिरहेका छन्: सीएनआई



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गुणस्तरीय बिजुली दिन नसक्दा ५७.८९ प्रतिशत उद्योगले जेनेरेटर प्रयोग गरिरहेका छन् ।

नेपाल उद्योग परिसंघले प्रकाशित गरेको औद्योगिक सर्वेक्षण प्रतिवेदनमा प्राधिकरणले उपलब्ध गराउने बिजुली नियमित र गुणस्तरिय नहुँदा उद्योगहरुमा जेनेरेटर जडान गर्नु परेको उल्लेख छ ।

उत्पादनमुलक उद्योगले जेनेरेटर प्रयोग गर्दा उत्पादन लागत ८.०५ प्रतिशतले वृद्धि भएको र उद्योग प्रतिस्पर्धात्मक क्षमता कमजोर भएको प्रतिवेदनमा उल्लेख छ ।

परिसंघले गरेको अध्ययनमा उद्योगीहरुले प्राधिकरणले दिने बिजुलीको निकै कम गुणस्तरको भएको गुनासो गरेका छन् ।
प्राधिकरणले प्रशारण र वितरणलाइनका साथैं टान्सफर्मरमा प्रयाप्त लगानी नगर्दा उद्योगलाई आफूले जनाएको प्रतिवद्धता अनुसार विजुली दिन सकेको छैन ।

यस्तै, उद्योग सञ्चालन भईरहँदा विजुली ट्रिपिङ (कुनै जानकारी नगराई झ्याप्प बिजुली जाने) हुँदा समेत उद्योगको कच्चा पदार्थ बिग्रने र उत्पादन लागत बढ्ने समस्या छ ।

स्वतन्त्र उर्जा उत्पादकहरुले उत्पादन गरेको बिजुली खेर भएको अवस्थामा प्राधिकराणले उद्योगलाई भने अनुसारलाई भोल्टेजमा विजुली दिन सकेको छैन ।

उद्योगमा विजुली नियमित आएपनि लाइटिङ लोड अर्थात् मेसिन उपकरण चलाउन नमिल्ने तर विजुली मात्रै बाल्न मिल्ने गरी विजुली आपुर्ति हुँदा समेत उद्योगहरु समस्यामा परेका छन् ।

व्यवसायीक प्रयोजनका लागि उद्योगहरुमा छुट्दै फिडर मार्फत् विजुली आपुर्ति गर्नु पर्ने माग उद्योगीहरुले गरेको प्रतिवेदनमा उल्लेख छ ।

नियमित गुणस्तरिय विजुली आपुर्ति हुँदा उद्योगको लागत घट्दै प्रतिस्पर्धात्मक क्षमता बढ्ने उद्योगीहरुको दाबी छ ।


क्लिकमान्डु