ब्याजदर बढी मागिएपछि उठेन १० अर्ब आन्तरिक ऋण



काठमाडौं । बैंक वित्तीय संस्था र अन्य कम्पनीले विकास ऋणपत्रमा ६.५ प्रतिशतभन्दा बढी ब्याज मागेपछि लक्ष्यअनुसार आन्तरिक ऋण उठाउन सरकार असफल भएको छ ।

सरकारले ६ वर्ष अवधिको ६.५ प्रतिशत ब्याजदरमा विकास ऋणपत्र जारी गर्दै १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन खोजेको थियो । तर, राष्ट्र बैंकले तोकेको कट अफ रेटभन्दा बढी ब्याज कबोल गरिएपछि सरकारले ४ अर्ब १६ करोड रुपैयाँ मात्रै आन्तरिक ऋण उठाउन सकेको हो ।

गत बिहीबार राष्ट्र बैंकले जारी गरेको विकास ऋणपत्र खरिद गर्न विभिन्न ३० कम्पनीले चासो राखेका थिए । ती कम्पनीहरुले १११ बोलपत्र प्रस्ताव मार्फत २३ अर्ब ४६ करोड रुपैयाँबराबरको ऋणपत्र खरिद गर्न प्रस्ताव राष्ट्र बैंकमा पेस गरेका थिए ।

तर, अधिकांश प्रस्तावमा राष्ट्र बैंकले तोकेको कट अफ रेट ६.५ प्रतिशतभन्दा बढी ब्याजदर माग गरिएको थियो, जसले गर्दा सरकारले लक्ष्यअनुसार आन्तरिक ऋण उठाउन नसकेको हो ।


रवि धिताल