सुनसरीमा दादुराविरुद्धको खोप अभियान चलाइँदै
सुनसरी । सुनसरीमा आजदेखि दादुरा रुबेलाविरुद्धको विशेष खोप अभियान सञ्चालनमा ल्याइने भएको छ । विशेष अभियानअन्तर्गत सुनसरीमा ६ महिनादेखि १५ वर्ष उमेर समूहका २ लाख ५३ हजार बालबालिकालाई खोप लगाउन लागिएको हो ।
महामारीका रुपमा दादुरा फैलिएका जिल्लामा पुनः खोप लगाउने सरकारी निर्णयबमोजिम सुनसरीमा विशेष खोप अभियान सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । अभियानबारे स्वास्थ्य कार्यालय सुनसरीले सरोकारवालाको उपस्थितिमा बैठक बोलाएर जानकारी गराएको छ ।
बैठकमा दिइएको जानकारीअनुसार खोप अभियान सुनसरीको बर्जु गाउँपालिकाबाहेकका ११ वटा स्थानीय तहमा सञ्चालन हुनेछ । बर्जु गाउँपालिकामा भने फागुनमा महामारीका रुपमा दादुरा फैलिएलगत्तै आकस्मिक खोप अभियान चलाइएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले बताए ।
उनका अनुसार सरकारको निर्णयबमोजिम दादुरा महामारी देखिएका ९ जिल्लाको हकमा विशेष खोप अभियान सञ्चालन हुन लागेको हो । सोही अनुरुप सुनसरीमा समेत अभियान चलाउन लागिएको हो ।
स्वास्थ्य कार्यालय सुनसरीले विशेष खोप अभियान विद्यालयमा केन्द्रित हुने जनाएको छ । पालिकामा रहेका सबै विद्यालयलाई केन्द्र बनाएर खोप लगाउने अभियानमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।