जारको पानीमा चरम लापर्बाही: बालेन्द्र शाह
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले जारको पानी बिक्रीमा गम्भीर लापर्बाही भइरहेको बताएका छन् ।
व्यावसायिक रूपमा पिउने पानीको व्यवसाय गर्ने व्यवसायीले जारमा भरेर वितरण गर्ने पानीको गुणस्तरमा ध्यान नदिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उनले बताएका हुन् ।
बर्खायाममा पानीजन्य रोग लागेर बिरामी हुने व्यक्तिको संख्या उल्लेख्य हुने गरेको र वितरण प्रणालीबाट आएको पानीमा भन्दा जारको पानीमा विश्वास गरेर सहरबासीले जारको पानी किनेर पिउने तथा दैनिक व्यवहारमा प्रयोग गर्ने गरेका बेला जारको पानी अशुद्ध हुनु गम्भीर विषय भएको उनको भनाइ छ ।
‘शुद्धताका लागि पैसा तिरेर किनेको पानीको जारमा लेबल नहुनु, उत्पादन मिति उल्लेख नहुनु, जार फोहोर र कुच्चिएको हुनुले यसभित्रको पानीको गुणस्तरमा शंका गर्नुपर्ने भएको छ,’ उनले भनेका छन्, ‘यो पानी घर–घरमा, होटल तथा रेस्टुरेन्टमा सिधै प्रयोग गर्ने गरिएको छ । पिउन तथा काँचै खाइने तरकारी तथा फलफूल पखाल्न प्रयोग हुने गरेको छ ।’
काठमाडौँ महानगरपालिकाको कृषि तथा खाद्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहित सरोकारवाला निकायले गरेको अनुगमनका क्रममा जारमा राखेर गरिने पानीको व्यवसायमा गम्भीर लापरबाही र त्रुटि पाएपछि शाहले आपत्ति जनाएका हुन् ।
गुणस्तर परीक्षणपछि यसको स्तरका विषयमा भन्न प्रयोगसिद्ध आधार हुने भएकाले परीक्षणका लागि प्रयोगशालामा पठाएको र प्राप्त नतिजाका आधारमा जारको पानी व्यवसायप्रतिको दृष्टिकोण निर्माण हुने उनले प्रस्ट पारेका छन् ।
उपभोक्तालाई पानीको शुद्धता यकिन गरेर मात्र जारको पानी खरिद गर्न, जार किन्दा उत्पादक तथा जारको सिलजस्ता गुणस्तर मापन गरिने पक्ष हेरेर मात्र खरिद गर्न पनि उनले अनुरोध गरेका छन् । ‘स्वस्थ रहन पिइने पानी रोगको कारण नबनोस्,’ उनले भनेका छन् ।