भारतमा एकैपटक ५०८ रेल बिसौनीको शिलान्यास



एजेन्सी । भारतमा एकैपटक ५०८ वटा रेल बिसौनीको शिलान्यास भएको छ । भारती प्रधानमन्त्री नरेन्द्र मोदीले ५०८ वटा रेल बिसौनी पुनर्निर्माण एवं विकास परियोजनाको शिलान्यास गरेका हुन् ।

भिडियो कन्फरेन्समार्फत अमृत भारत स्टेसन योजनाअन्तर्गत २५ हजार करोडका ती विशाल परियोजनाको उनले शिलान्यास गरेका हुन् ।

आज शिलान्यास गरिएका रेल बिसौनीमा केन्द्रीय मन्त्री तथा सम्बन्धित राज्यका मुख्यमन्त्री एवं राज्यपालहरूको उपस्थिति थियो । रेल बिसौनी देशका २७ राज्य र केन्द्र शासित प्रदेशमा फैलिएका छन् ।

त्यस अवसरमा प्रधानमन्त्री मोदीले विश्वस्तरीय सुविधायुक्त रेल सेवा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । देश विकासका काममा आफू पनि नलाग्ने अनि अरुलाई पनि लाग्न नदिने प्रतिपक्षीले विरोध गर्दैमा आफू विचलित नहुने उनले बताए ।

‘देशले आधुनिक संसद् भवन बनाएको छ, संसद् देशको लोकतन्त्रको प्रतीक हो । यसमा सत्तापक्ष र प्रतिपक्षको प्रतिनिधित्व छ तर विपक्षीले नयाँ संसद् भवनको विरोध मात्र गरेन उद्घाटन कार्यक्रमलाई बहिष्कार नै गर्‍यो,’ उनले भने ।

विरोधमात्र गर्ने विपक्षीलाई लज्जा महसुस नभएको पनि उनले बताए । ‘सत्तरी वर्षसम्म उनीहरूले केही गरेनन्, देशका वीर सहिदहरूको सम्मानमा युद्ध स्मारक पनि बनाएनन् । हामीले राष्ट्रिय युद्ध स्मारक बनायौं, तिनीहरू त्यसको पनि आलोचना गर्न पछि परेका छैनन्,’ उनले भने ।


रवि धिताल