सहकारीहरुमा देखिएको समस्या अझैं डेढ दुई वर्ष रहन्छ: मिनराज कँडेल



काठमाडौ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष मिनराज कँडेलले सहकारीमा देखिएको समस्या अझै केही समय रहने बताएका छन् ।

राष्ट्रिय सहकारी बैंकको २१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सहकारीमा पछिल्लो समय देखिएको समस्या अझै डेढ दुई वर्ष कायमै रहने बताए ।

विश्व अर्थतन्त्रमा देखापरेको असर नेपालको सहकारीहरुमा पनि परेको र डेढ दुई वर्षपछि अवस्थामा सुधार आउने उनको भनाइ थियो ।

कँडेलले केही सहकारी संस्थाले गलत काम गरेकोले ति संस्थाहरुमा समस्या देखिएको बताए । गलत काम गर्ने, सदस्य र समुदाय केन्द्रीत नहुने संस्था दन्डित हुनुपर्ने उनको भनाइ छ ।

कतिपय संस्थाको भवन कहाँ छ, सन्चालक को हो ? प्रमुख कार्यकारी को हो भन्ने जानकारी नभइ वचतकर्ताले पैसा राख्ने गर्दा त्यस्ता सहकारी मनपरी ढंगमा चलेको उनले बताए ।

सहकारी बलियो बनाउन सीईओहरुको भूमिका महत्त्वपूर्ण हुने उनले बताए । उनले सिईओ बोर्डको सल्लाहकार पनि भएको उल्लेख गरे । उनले कुनै बेला सहकारीका सन्चालक बहकाउमा लागेको खण्डमा त्यसलाई सहज रुपमा अघि बढाउन सक्नुपर्ने उनले बताए ।

तीन खम्बे अर्थनितिमा एउटा खम्बा सहकारी भएको बताउँदै उनले अर्थतन्त्रको विकासमा सहकारीको योगदान रहेको बताए ।


क्लिकमान्डु