व्यवसायी कँडेल मृत्यु प्रकरण: प्रदिप रुङ्गटा तीन महिनापछि चितवन अदालतमा हाजिर



चितवन । पोल्ट्रि व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेका व्यवसायी प्रदिप रुङ्गटा चितवन जिल्ला अदालत हाजिर भएका छन् । उनी हाजिर भएसँगै न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासमा रुङ्गटाको बयान भएको छ ।

कँडेल मृत्यु प्रकरणको तीन महिनापछि अदालतमा हाजिर भएका रुङ्गटाको बयान जारी रहेको चितवन जिल्ला अदालतका श्रेस्तेदार ईश्वर आचार्यले जानकारी दिए ।

वैशाख १९ गते कँडेल नारायणगढस्थित कार्यालयमा मृत अवस्थामा भेटिएका थिए । कँडेलले आत्महत्या अघि लेखेको ‘सुसाइट नोट’मा नमोल फिड्सका चार्टर्ड एकाउन्टेट जीवन रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका व्यवसायी रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गरे थिए ।

कँडेल मृत भेटिएपछि उनको परिवारले आत्महत्याको कारण कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी रुङ्टा र कँडेलकै कम्पनीमा कार्यरत चार्टर एकाउन्टेन्ट जीवन रावलविरुद्ध उजुरी परेको थियो ।

केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको शेयर व्यवसायी रुङ्टालाई बेचेका थिए ।

शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र रावलले मानसिक दबाब दिएको उनको सुसाइट नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ ।

वैशाख २२ मा बाराको सिमाराबाट पक्राउ परेका अर्का आरोपी रावल भने केही दिन अघि उच्च अदालत हेटौँडाबाट तारेखमा रिहा भएका थिए ।


क्लिकमान्डु