नेपाल आयल निगमले बढायो पेट्रोल र डिजेलको मूल्य, ग्यासमा प्रतिसिलिन्डर १३० रूपैयाँ घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगम व्यवस्थापनको निर्णयअनुसार मूल्य अभिवृद्धि करको प्रभाव एवं पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल ९ रूपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ७ रूपैयाँ बढाइएको हो ।
इन्डियन आयल कर्पोरेसनबाट १ अगस्टमा प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ८.१४ रूपैयाँ र डिजेलमा ६.८६ रुपैयाँ बढेर आएको थियो । सोहीअनुसार निगमले मूल्य बढाएको हो ।
त्यस्तै, एलपि ग्यासको मूल्यमा प्रति सिलिन्डर ११७.६२ ले घटेर आएको छ । निगमले खाना पकाउने एलपी ग्यासमा साविकको खुद्रा बिक्री मूल्यमा प्रतिसिलिन्डर १३० रूपैयाँ घटाएको छ ।
हवाई इन्धनको साविकको बिक्री मूल्य भने यथावत् नै राखिएको छ । निगमले यसअघि नै पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली कायम गरेको छ । त्यसैले आईओसीले नयाँ मूल्य पठाएसँगै निगमले मूल्य बढाएको हो ।
समायोजन पश्चात् निगमको डिपोदेखि १५ किलोमिटरसम्म पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य देहायबमोजिम कायम भएको छ ।