सोह्रौँ योजनामा कृषि क्षेत्रलाई प्राथमिकता दिन्छौँः उपाध्यक्ष श्रेष्ठ



काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले सोह्रौँ योजना कृषि क्षेत्रलाई प्राथमिकता दिनेगरी बनाउने बताए ।

सोमबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उपाध्यक्ष श्रेष्ठले सोह्रौँ योजनामा कृषि क्षेत्रलाई प्राथमिकता दिने बताए । त्यसको लागि यस आर्थिक वर्षको बजेटबाट नै तयारी थालिएको उनले बताए ।

यो आर्थिक वर्षको बजेटमा उत्पादन र रोजगारीका विशेष कार्यक्रम घोषणा भएको उल्लेख गर्दै एउटा पालिकामा दुई वटाका दरले कार्यक्रम अगाडी बढाउने बताए ।

आगामी वर्षहरुमा देशैभरी कृषि, पशुपंक्षी पालन, जडिबुटी, साना घरेलु, लघु र मझौला उद्योगहरुका कार्यक्रमहरुमा जोड दिइने उनले बताए ।

होटल, एग्रो, रिसोर्टहरु र सूचना प्रविधिमा आधारित सम्पूर्ण उद्योगहरुलाई नेटवर्किङ गरेर ठूल्ठूला कार्यक्रमहरु खोल्ने कार्यक्रमहरु राखिने उनले बताए ।

सामूहिकतालाई जोड दिनेगरी अगाडी बढ्नुपर्ने पनि बताए । उपाध्यक्ष श्रेष्ठले कृषिको उत्थान भयो भने उद्योगको पनि उत्थान हुने र अर्थतन्त्रमा विकास हुने बताए ।

उनले विकास निर्माणका काम गर्न नीतिगत रुपमा पनि समस्याहरु आउने भन्दै त्यसको समाधान गर्नुपर्ने अवस्था आएको बताए । यसका लागि विकास विधेयक तर्जुमा भइराखेको उनले बताए । उनले राष्ट्रिय योजना आयोगले विकास आयोजनाहरुको अनुगमन गरेर दिएको प्रतिवेदन समेत कार्यान्वयन नहुने गरेको बताए।

उहाँले राष्ट्रिय योजना आयोगले आयोजना वर्गिकरण र आयोजना बैंकको कार्यविधि ड्राफ्ट गरेर मन्त्रिपरिषद्मा पठाएको र मन्त्रिपरिषद्बाट पारित हुने क्रममा रहेको बताए । सो कार्यविधि पारित भएमा स्थानीय तह, प्रदेश र संघले विकास निर्माणको कुन–कुन काम गर्ने भन्नेमा प्रष्ट हुने बताए ।


क्लिकमान्डु